यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

२०७८ कार्तिक २४ बुधबार १५:२१:०० मा प्रकाशित

यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ ।

आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उनका शिशुको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।

उनीहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उनका श्रीमान् पनि पत्रकार हुन् । बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उनका नजजात शिशुको ज्यान गएको छ भने उनका श्रीमान् सख्त घाइते भएका छन् ।घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको ती सुरक्षा अधिकारीले जनाएका छन् ।

उनी एक स्थानीय टेलिभिजनका पत्रकार हुन् । यहाँको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रुपमा गरिएको अनुुसन्धानबाट उनीहरुको रोकी राखेको कारमा बम राखेको र पछि कार गुडेपछि रिमोर्ट कन्ट्रोलको सहायताले विस्फोट गराएको अनुमान गरिएको छ । यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै व्यक्ति या समूहले लिएको छैन । प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ । प्रहरीले यसमा आतंककारी समूहको हात रहेको अनुमान गरेको छ ।

ताजा खबर