आइसीसी टि-ट्वान्टी विश्वकपमा आजदेखि सेमीफाइनलका खेल सुरु हुँदै

२०७८ कार्तिक २४ बुधबार ११:४४:०० मा प्रकाशित

आइसीसी टि ट्वान्टी विश्वकपमा आजदेखि सेमीफाइनलका खेल सुरु हुँदैछन् । पहिलो खेलमा आज न्युजील्यान्ड र इङल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । युएइको अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।  

रोमाञ्चक र प्रतिस्पर्धात्मक एकदिवसीय विश्वकपको फाइनलमा भिडेको दुई वर्षपछि  न्युजील्यान्ड र इङ्ल्यान्ड नकआउट प्रतियोगितामा पहिलो पटक आमने सामने हुँदैछन् । यो भेटलाई सोही फाइनलको रिम्याचका रुपमा हेरिएको छ ।

 खेल टाइ भएपछि इङ्ल्यान्डले सर्वाधिक चौका प्रहार गर्ने टिमको नियमका आधारमा  एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । अभागी सावित भएको न्युजील्यान्डले टि ट्वान्टी विश्वकप अघि पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

इङ्ल्यान्ड लगातार  एकदिवसीय र टि ट्वान्टी विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यमा छ । न्युजील्यान्ड इङल्यान्डसँग बदला लिँदै फाइनलमा स्थान बनाउन चाहन्छ । सुपर १२ को समूह एकमा रहेको इङल्यान्ड तालिकाको पहिलो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो  ।

आज ओपनर ब्याट्सम्यान जोसोन रोय र तीव्र गतिका बलर टेइमल मिल्स हुनेछैनन् । चोटका कारण दुवै खेलाडीले विश्वकप गुमाएका हुन् । यसका बाबजुत इङ्ल्यान्डविरुद्धको खेल सहज नहुने न्युजील्यान्डका कप्तान केन विलियम्सनको भनाइ छ ।

उनले विपक्षीबाट कडा चुनौतीको सामना गर्नुपर्ने बताए । इङ्ल्यान्डका कप्तान इयोान मोर्गनले आजको खेलमा न्युजील्यान्ड फेभरेट रहेको प्रतिक्रिया दिए । न्युजील्यान्ड सुपर १२ को समूह दुईको दोस्रो स्थानमा रहदै सेमीफाइनल पुगेको हो । आजको विजेताले पाकिस्तान र अस्ट्रेलिया मध्ये एक टोलीसँग उपाधिका लागि खेल्नेछ । 

ताजा खबर