ठगी मुद्दामा बङ्गलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

२०७८ कार्तिक २३ मंगलबार २३:३७:०० मा प्रकाशित

बाङ्गलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकास्थित एक विशेष अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ ।

ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स बैंक भनिने हाल पद्मा नाम रहेको बैंकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ ।

उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक–फरक सजाय सुनाइएको छ। बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ । यसअघि जनवरी ५, २०२० मा ढाकास्थित एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन् २०१६ मा एसके सिन्हाले सरकारसँगको कडा मतभेतका माझ छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए । पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेका बताइएको छ । विदेशमा रहँदा उनले आफ्नो जीवन र काममा आधारित ’अ ब्रोकन ड्रीम’ नामक पुस्तक लेखेका थिए र उक्त पुस्तकले निकै विवाद निम्त्याएको थियो।

 

ताजा खबर