अफगान सरकारद्वारा पोलियो खोप अभियान सुरु

२०७८ कार्तिक २३ मंगलबार १३:५६:०० मा प्रकाशित

अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट खोप कार्यक्रमको सुरुवात गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीले खोप कार्यक्रमलाई देशव्यापी बनाइने जानकारी पनि गराएका छन् । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफको सहयोगमा यो कार्यक्रमको सुरुवात गरिएको बताइएको छ ।

सोमबारदेखि सुरु भएको यो कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ । यो अभियानले पाँच वर्षमुनिका ९० लाखभन्दा बढी बालबालिकालाई लक्षित गरेको बताइएको छ अफगानिस्तानका कार्यबाहक जनस्वास्थ्य मन्त्री क्वाल्दार अबादले देशमा पोलियोको उन्मुलनका लागि यो अभियान सञ्चालन गरिएको बताए ।

अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए । यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो । तर तालिबानहरुले विदेशी कार्यक्रम भनेर यसमा संलग्न हुने स्वास्थ्यकर्मीको हत्या गर्ने तथा आफ्ना बालबालिकालाई पोलियो थोपा नखुवाउन दबाब दिने गरेका थिए ।

ताजा खबर