प्रधानसेनापति शर्मा भारत भ्रमणमा

२०७८ कार्तिक २३ मंगलबार १०:०५:०० मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा भारत भ्रमणमा गएका हुन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

साभारः drishyatv.com

ताजा खबर