पोल्याण्डद्वारा बेलारुसतर्फको सीमामा सयौँ आप्रवासीलाई अवरोध

२०७८ कार्तिक २३ मंगलबार ०८:३६:०० मा प्रकाशित

पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोजेका कयौँ आप्रवासीलाई रोकेको  छ । पोल्याण्डको सरकारले सोमबार एउटा आपतकालीन बैठक बोलाउँदै त्यस क्षेत्रमा १२ हजार फौज खटाएको छ ।

पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई ’शत्रुतापूर्ण कार्य’ भनेको छ । पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन् ।

ती धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासीहरू हुन् । युरोपेली सङ्घले बेलारुसका तानाशाही राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले आफूविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध आप्रवासीको त्यस्तो लहरलाई सहजिकरण गरेको आरोप लगाएको छ ।

मङ्गलबार बिहानैबाट बेलारुसतर्फकै एउटा सीमा नाका कुज्निका बन्द गरिने पोलिस बोर्डर गार्डले जनाएको छ । उक्त क्षेत्रमा शून्य डिग्री सेल्सियसभन्दा तल पुग्ने ठन्डीकाबीच सीमामा आप्रवासीहरूको असहज अवस्था देखिन्छ र उनीहरूको स्वास्थ्यको चिन्ता भइरहेको छ ।

उनीहरू पोल्याण्डबाट निकालिँदा र बेलारूसले फिर्ता लिन नचाहँदा पोल्याण्डको जङ्गलमा उनीहरू अलपत्र परेका छन् । चिसोकै कारण केहीको मृत्युको भएको छ । जर्मनीका आन्तरिक मामिला मन्त्रीले युरोपेली सङ्घलाई पोल्याण्डको सीमा सुरक्षित राख्ने एकीकृत कदम चाल्न आग्रह गरेका छन् ।

यसअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बेलारुसका अधिकारीहरूले जबरजस्ती आप्रवासी लहर सिर्जना गर्न खोजेको आरोप लगाएका थिए । त्यसलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले अस्वीकार गरेका छन्।
 

ताजा खबर