सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

२०७८ कार्तिक २२ सोमबार १४:२७:०० मा प्रकाशित

सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गरेका हुन् । सोमबार, मंगलबार र बुधबार देशभरी शोक मनाइने भएको छ । गत शनिवार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिएका छन् । अस्पतालमा उपचार भइरहेका मध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् ।उनले घटनाका बारेमा निश्पक्ष छानविन गरी दोषीलाइ कारबाही गर्ने प्रतिवद्धता समेत जनाएका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नु पर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनु पर्ने उपायहरु अपनाउनु पर्दछ,” उनले भने । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते र मृतक मध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।

शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भिड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।

ताजा खबर