ड्रोन आक्रमण गरी इराकी प्रधानमन्त्रीको हत्या प्रयास

२०७८ कार्तिक २१ आइतबार ११:०१:०० मा प्रकाशित

इराकी प्रधानमन्त्री मुस्तफा अल–खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन् ।

अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल–खादिमीलाई अस्पताल लगिएको थियो। तर उनले आफू घाइते नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्विटरमा उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन् । आक्रमणबाट प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये ६ जना घाइते भएका छन् । कैयौँ सरकारी भवन र दूतावासहरू रहेका क्षेत्रमा प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो । अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन ।

अमेरिकाले घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री अल–खादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुन् । उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

केही सातायता इरानप्रति सहानुभूति राख्ने राजनीतिक समूहहरूले ग्रीन जोननजिकै प्रदर्शन गरिरहेका थिए । गत महिना भएको निर्वाचनको परिणाममा अनियमितताको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गर्ने गरेका छन् । यसै साता सुरक्षाकर्मीहरूसँग भएको हिंसात्मक झडपका क्रममा १०० जनाभन्दा बढी मानिसहरू घाइते भएका थिए।

ताजा खबर