देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

२०७८ कार्तिक २१ आइतबार ०९:४०:०० मा प्रकाशित

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रु बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् ।  

मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । 

ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

ताजा खबर