उत्तर कोरियामा ठूलो भोकमरी

२०७८ कार्तिक २० शनिबार १०:०३:०० मा प्रकाशित

उत्तर कोरियामा भोकमरी लागेको छ । देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले उत्तर कोरियामा रहेका आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन् ।

हिउँद याम नजिकिँदै गर्दा धेरै जोखिममा रहेकाहरू भोकमरीबाट सबैभन्दा बढी प्रभावित हुने भन्दै चिन्ता बढेका छन्। उत्तर कोरियामा स्रोत भएकी डेली एनकेकी प्रधानसम्पादक ली साङ योङले अनाथ बालबालिकाहरू सडकमा धेरै देखिने र भोकमरीका कारण मानिसहरूको मृत्यु भइरहेका खबर निरन्तर रूपमा आइरहेका बताएकी छन् ।

खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा उत्तर कोरियामा निम्न वर्गीय मानिसहरू धेरैभन्दा धेरै पीडित भएको लीले बताइन् । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन भन्दै गरिएको सीमा बन्द गत वर्षको जनवरीदेखि नै कायम छ । दक्षिण कोरियामा रहेकालाई उत्तर कोरियामा बस्ने परिवार र साथीभाइबाट सन्देश पाउन पनि मुस्किल हुँदै गएको छ र त्यसरी सूचना लिनु पनि खतरनाक बनेको छ ।

अनधिकृत मोबाइल फोन लिएको पाइए त्यस्ता मानिसलाई श्रम शिविरमा पठाइने गरेको छ। तर पनि केही मानिसहरू भने चिठ्ठी वा आवाज सन्देश सोलमा रहेका आफ्ना आफन्त वा सञ्चारमाध्यमलाई पठाइरहेका छन् ।

उत्तर कोरियामा खाद्यान्न अभावको समस्या सधैँको हो तर कोरोनाभाइरसको विश्वव्यापी महामारीले त्यो अवस्थालाई अझै खराब बनाएको छ । नेता किम जङ–अनले देशको अहिलेको अवस्थालाई सन् १९९० को खराब अवस्थासँग दाँजेका छन् । “आर्डस मार्च“ नाम दिइएको सन् १९९० को त्यस्तो विपद्मा लाखौँ मानिसको भोकमरीका कारण ज्यान गएको थियो ।

उत्तर कोरियाले चीनसँगको सीमा खोल्ने तयारी गरेको देखिएको छ। तर पहिल्यै गरिब रहेको देशको बिग्रिएको अर्थतन्त्र उकास्न कति सहायता वा कति व्यापार आवश्यक छ भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन।

 

ताजा खबर