फाइजरको खाने औषधि ८९ प्रतिशत प्रभावकारी

२०७८ कार्तिक १९ शुक्रबार २१:३६:०० मा प्रकाशित

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ ।

अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ । पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ ।

फाइजरले उक्त चक्कीको आपत्कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ । उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ । उसको चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ ।

ब्रिटिश नियामक निकायले बिहीबार मात्रै त्यसको प्रयोगका लागि अनुमति दिएको थियो । अस्पताल र चिकित्सकहरूमाथि बोझ घटाउने गरी कोभिड बिरामीले घरमै सेवन गर्न सक्ने चक्कीको विकास गर्न औषधि उत्पादकहरू लागिपरेका छन् ।

कोभिड देखिनासाथ जतिसक्दो चाँडो जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक मोल्न्यूपिरभीर चक्की दिइनेछ । मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा सेवन गर्न सकिनेछ ।

कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि निकामक एमएचआरएले जनाएको थियो । बेलायतले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर औषधि पाउने गरी खरिद सम्झौता गरिसकेको छ ।

ताजा खबर