दीपावलीका कारण नयाँ दिल्ली वायु प्रदूषणको चपेटामा

२०७८ कार्तिक १९ शुक्रबार १८:५५:०० मा प्रकाशित

भारतको नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले बिहीबार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको बताइएको छ ।

सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र मौसमले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनाएको छ । हिउँद याममा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

दीपावलीको समयमा आतिशबाजीका प्रदूषित कणहरू वायुमण्डलको तल्लो सतहमै रहने हुँदा हावाको गुणस्तरलाई झनै बिगार्ने बताइन्छ । वायुमा हुने खतरनाक साना प्रदूषकहरू पीएम २.५ को मात्रा दिल्लीका केही भागमा ९९९ प्रतिघनमिटर थियो जुन वायु गुणस्तर नाप्ने मेसिनमा देखाउने सबैभन्दा ठूलो सङ्ख्या हो ।

त्यहाँका धेरै ठाउँहरूमा ५०० भन्दा माथि पीएम २.५ को मात्रा रेकर्ड गरिएको थियो। यो मात्रा भनेको जनस्वास्थ्यलाई गम्भीर असर गर्ने स्तर हो । वायु गुणस्तर सूचकाङ्क एक्यूआईमा शून्यदेखि ५० सम्मको मात्रा राम्रो मानिन्छ र ५१ र १०० बीचमा मात्रा सन्तोषजनक मानिन्छ ।

प्रदूषणको स्तरलाई न्यूनीकरण गर्न सरकारले यस वर्ष पटाका विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । तर त्यसले काम गरेको देखिएन । शुक्रवार बिहान सहर प्रदूषणका कारण धुम्म थियो भने धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका थिए ।

अधिकारीहरूले वायु गुणस्तर आइतबार बेलुकीसम्म थोरै सुधार हुने बताएका छन् । सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

भारत संसारकै सबैभन्दा वायु प्रदूषित देश हो। संसारका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा रहेका छन् । भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् ।

गत वर्ष दिल्लीमा पीएम २.५ को हालसम्मकै सबैभन्दा बढी मात्रा रेकर्ड गरिएको थियो जुन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सीमा भनी निर्धारण गरेको भन्दा १४ गुणा बढी थियो ।

हालैको एउटा अध्ययनले उत्तरी भारतका बासिन्दाहरूले विश्वमै सबैभन्दा खराब वायु प्रदूषणमा बाँच्नु परेको उल्लेख गरिएको छ । दिल्लीको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य स्तरमा झारिए त्यहाँका बासिन्दा औसतमा १० वर्ष बढी बाँच्न सक्ने बताइन्छ ।

ताजा खबर