वेस्ट इन्डिज टि-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो

२०७८ कार्तिक १९ शुक्रबार १५:१८:०० मा प्रकाशित

साविक विजेता वेस्ट इन्डिज आइसीसी टि-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आफ्नो चौथो खेलमा श्रीलङ्कासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिजको यात्रा समाप्त भएको हो । सुपर १२ को समूह एकमा रहेको वेस्ट इन्डिजले चार खेलमा मात्र दुई अंक जोड्यो । उसले समूहको अन्तिम खेलमा शनिबार अस्ट्रेलियासँग खेल्नेछ । श्रीलङ्का यसघिनै प्रतियोगिताबाट बाहिरिसकेको थियो । उसले पाँच खेलमा दुईमा जित र तीनमा हार बेहोर्यो ।

श्रीलङ्काले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको  वेस्ट इन्डिजले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६९ रन मात्र बनाउन सक्यो । निकोलस पुरन र सिमोन हिटमायर बाहेक अन्य खेलाडीले दोहोरो अंक  छुन सकेनन् । हिटमायरले ५४ वलमा अविजित ८१ रन बनाए ।

उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए । पुरनले ४६ रन जोडे । स्टार खेलाडी क्रिस गेल जारी विश्वकपमा  चल्नल सकेनन् । श्रीलङ्का विरुद्ध उनी मात्र  एक रनमा पवेलियन फर्किए ।  इभिन लेविस ८ र  रोस्टन चेज ९ रनमा मैदान बाहिरिए ।

रसेल र कप्तान काइरोन पोलार्ड पनि लामो समय क्रिजमा टिक्न सकेनन् । रसेल  दुई रनमा क्याच आउट हुँदा पोलार्डले खाता खोल्न सकेनन् । बिनुरा फर्नान्डो, चामिका कुमारारत्ने र विनान्डु हसरंगा डि सिल्भाले दुई दुई विकेट लिए । दुश्मान्था चामिरा र सानाकाले एक एक विकेट बाँडे ।

यसअघि  अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा तीन विकेट गुमाएर १ सय ८९ रनको योगफल बनाएको थियो ।  ओपनर कुशल परेरा  २९ रनमा आउट भए ।  

दोस्रो विकेटका लागि पाथुम निसान्का र चारिथ आसालान्काले ९१ रनको साझेदारी गरे । निसान्काले  ४१ वलमा ५१ रनको योगदान गरे । आसालान्काले ६८ रन बनाए । ४१  वलनै खेलेका उनले आठ चौका र एक छक्का प्रहार गरे । कप्तान दासुन सानाका २५ रनमा अविजित रहे । आन्द्रे रसेलले दुई र ड्वेन ब्राभोले एक विकेट लिए । 

ताजा खबर