हराएको ‘न्हु दँया भिन्तुना’

२०७८ कार्तिक १९ शुक्रबार ११:५०:०० मा प्रकाशित

जेपी गुप्ता ।
समयले आन्दोलनहरूको तानाबानालाई धुजाधुजा पार्दछ । मधेस आन्दोलन अहिले सत्ताको नदीमा तैरिइरहेको कागजको नाउ जस्तो भएको छ । आदिवासी जनजाति आन्दोलन वर्षमा एक पटक साकेला–लोसारको दिन टुँडिखेलमा देखिन्छ । यसका अभियन्ताहरू एमाले ठिक कि माओवादी भन्ने बिथ्था बहसमा दिन खर्चिरहेका छन् । दलित आन्दोलनको उपस्थिति “संयुक्त राष्ट्रसंघ विभेद बिरूद्धको दिवस” का दिन सेमिनारहरूमा रहन्छ । काठमाण्डू मण्डलबाट शुरू भएको शायद नेपालकै सबभन्दा सशक्त पहिचानको आन्दोलन अहिले पूर्णतः ‘न्हु दँया भिन्तुना’ मा अल्पपरिभाषित भएको छ। यसले गौतम बुद्धको मुखाकृतिमा एउटा ‘मिथ’ लाई प्रतीक बनाएर सालाना उत्सवमा रूपान्तरित भएको हुन गएको छ । यहाँ अब प्राध्यापक मानिकलाल प्रधान, पद्मरत्न तुलाधर, प्रो. कमल प्रकाश मल्ल, मल्ल के. सुन्दरहरूको शंखनाद सुनिन्न । भिन्तुना आन्दोलनको गर्भमा रहेको विद्रोही आवाजलाई नायकहरूले अहिले डिजिटल संसारको ‘अडियो अर्काइभ’ मा राखेर शताब्दी पुरूषको जीर्ण काँधमा खादाको भार थपिरहेको पाइन्छ।

नेपाल सम्बतको अभियान काठमांडूबाट जन्मेको प्रजातान्त्रिक आन्दोलनको सहयात्री थियो। पहिचानको खोजी तथा त्यसबखत अदृश्य झैं रहेको संघात्मक शासनको मागको आधारभूमि तयार गरिरह्यो यस आन्दोलनले । राजतन्त्र, संसारमा जहाँको होस–त्यसले एउटा धर्म, एक भाषा र पहिरन तथा खास स्वार्थ भएकोहरूको सम्वर्धन गर्ने शासन व्यवस्था बोकेको हुन्छ। नयाँ बर्षको रूपमा बिक्रमी सम्बतको सट्टा नेपाल सम्बत, ठेट नेवारी बोलीमा विद्रोही आवाजको अभिव्यक्ति, राजकीय लवेदा शुरूवालको ठाँउमा भादगाउँले महिला पुरूषको पहिरन र राजाले गरेको भूईँफुट्टा वर्गको विकासलाई चुनौति दिन काठमांडूका सडकहरूमा निस्कने खर्पन बोकेकाहरूको जुलुस बास्तवमा ‘न्हु दँया भिन्तुना’ आन्दोलनको ‘विचार’ थियो, विद्रोहको ‘फिलुडड्डगो’ थियो। पञ्चायती एकात्मवादी राज्य व्यवस्थाको केन्द्र राजदरवार र अनुचर सिंहदरवारलाई यसले दशकौंसम्म दिएको धक्का बिर्सन सकिन्न ।

आज त्यो अवस्था छैन। बुढानिलकण्ठको दर्शन झैं बर्जित थियो राजदरवारका लागि ‘भिन्तुना’ मा शुभ कामना दिनु । आज फालिएका राजाको ‘इन्द्रजात्रा’ मा उपस्थिति देखिन्छ–यो काठमांडूमा। यो ओरालोपन एक्लो काठमांडूको होइन, मधेसी–जनजाति सबै तिर देखिन्छ। आज ‘न्हु दँया भिन्तुना’ मानईदैछ। राजनीति निरपेक्ष रूपमा। मिथकलाई स्थापित गराउने मागको परम्परा निर्वाह गरेर । तर, यो आन्दोलन थियो अतितको, जसले मुलुकलाई प्रजातान्त्रीकरण गर्नको लागि पूरक रहेको थियो। जातीय, भाषिक, क्षेत्रीय र सामुदायिक पहिचानको जग बनाएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको समग्र अध्ययन यसले दिएको शक्तिको अनदेखा गरेर पुरा हुँदैन ।
पूर्वमन्त्री गुप्ताको फेसबुकबाट ।

ताजा खबर