इरानसँग परमाणु सम्झौता वार्ता केही सातामा हुने

२०७८ कार्तिक १८ बिहीबार १५:५०:०० मा प्रकाशित

इरान र अन्य ६ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना हुने भएको छ । इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले आउँदो नोभेम्बर २९ तारिखमा उक्त वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका हुन् । इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताहरू रोकिएका थिए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो तर वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ । बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ ।

उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता बेलायत, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुनेछन् । बुधवार आफ्नो ट्वीटरमा प्रमुख वार्ताकार कनीले गैरकानुनी र अमानवीय प्रतिबन्धहरू हटाउने उद्देश्य राखिएको वार्ता नोभेम्बर २९ तारिखमा भियनामा हुने सहमति भएको जानकारी दिएका छन् ।

सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो । त्यसका साथै उसले अन्तर्राष्ट्रिय निरीक्षण अनुमतिका लागि पनि सहमति जनाएको थियो।

ताजा खबर