भारतमा थप १२ हजारलाई कोरोना संक्रमण

२०७८ कार्तिक १८ बिहीबार १४:२१:०० मा प्रकाशित

भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् ।

सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४८ हजार ५७९ रहेको छ ।

तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ ।

ताजा खबर