इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा

२०७८ कार्तिक १७ बुधबार २१:३९:०० मा प्रकाशित

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बुधबार विज्ञप्ति जारी गरी हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँ वृद्धि गरिएको जनाएको छ ।

यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि ४४० रुपैयाँ बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर चार हजार छोटो गन्तव्य २४० रुपैयाँ कायम भएको छ । काठमाडौँ–सिमरामा सबैभन्दा कम ९५ रुपैयाँ वृद्धि भएको छ । यो गन्तव्यमा पनि साविकमा ७७० रहेकामा बढेर ८६५ रुपैयाँ कायम भएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो । सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

पर्वतीय उडानमा पनि ३४५ रुपैयाँ भाडा वृद्धि भएको छ । हवाई यात्रुले अब काठमाडौँबाट भद्रपुरमा ३०० रुपैयाँ, विराटनगरमा २४० रुपैयाँ, जनकपुरमा १३० रुपैयाँ, भरतपुरमा १०५ रुपैयाँ, पोखरामा १५५ रुपैयाँ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी तिर्नुपर्नेछ । तुम्लिङटारमा १८५ रुपैयाँ, राजविराजमा २०५ रुपैयाँ, नेपालगञ्जमा ३३० रुपैयाँ बढी भाडा तिर्नुपर्नेछ ।

पोखरा–भरतपुरमा ११० रुपैयाँ, पोखरा–भैरहवामा १३० रुपैयाँ, पोखरा–सिमरामा २२०रुपैयाँ, पोखरा–नेपालगञ्जमा २३५रुपैयाँ, पोखरा–विराटनगरमा ३५५रुपैयाँ र पोखराबाट पर्वतीय उडानमा अब ३१५रुपैयाँ बढी लाग्ने छ । विराटनगरबाट पर्वतीय उडानमा ३२०रुपैयाँ, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । त्यस्तै भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ भाडादर बढेको छ ।

प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएकोे छ ।
 

ताजा खबर