चीनमा सर्वसाधारणलाई अत्यावश्यक उपभोग्य सामग्री खरीद गरेर राख्न सूचना जारी

२०७८ कार्तिक १७ बुधबार ११:५१:०० मा प्रकाशित

चीन सरकारले सर्वसाधारण नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयले प्रकाशित गरेको सूचनामा कुनै कारण भने खुलाइएको छैन । तर धेरै ठाउँमा कोरोनाभाइरसको त्रास फैलिएकाले लकडाउन लगाइएको र अतिवृष्टिका कारण खेती बिग्रिएकाले तरकारीको आपूर्तिबारे चिन्ता व्यक्त भइरहेको बेला सरकारले त्यस्तो सुझाव दिएको हो ।

सरकारले स्थानीय निकायहरूलाई उपभोग्य सामानको निरन्तर आपूर्ति गराउन तथा मूल्य स्थिर राख्न निर्देशन दिएको छ । त्यस्तो सूचना जारी भएपछि सर्वसाधारण आत्तिएर किनमेल गर्न गएका थिए ।

सरकारी सञ्चारमाध्यमले उनीहरूलाई शान्त पार्न खोजेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएको मानिने इकोनमिक डेलीले आफ्ना पाठकलाई नआत्तिन आग्रह गरेको छ ।

सरकारले लकडाउन घोषणा गरेको खण्डमा सामान अभाव नहोस् भन्ने चाहेको उसले जनाएको छ । तर अहिले तरकारीको भाउ बढेको तथा कोभिडका नयाँ बिरामी फेला परिरहेको बेला त्यस्तो सूचना आएको छ । चीनमा हिउँदको समयमा खाद्यपदार्थको मूल्य बढ्ने गर्छ। तर प्रतिकूल मौसमका कारण केही सातादेखि तरकारीको भाउ अकासिएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप चीनमा निरन्तर कडा लकडाउन लगाइएको छ । फेब्रुअरीमा आयोजना गर्न लागिएको ग्रीष्मकालीन ओलिम्पिक्सअगाडि नै कोरोनाभाइरस सङ्क्रमण शून्यमा झार्न चीनले खोजेको छ ।

चीनमा सोमवार ९२ जनामा कोभिड पुष्टि भएको थियो । यो सप्ताहान्तमा घर फर्किएका एक व्यक्तिमा कोभिड पुष्टि भएपछि शाङ्घाई डिज्नील्यान्ड कम्तीमा दुई दिन बन्द गरिएको थियो।

ताजा खबर