पाकिस्तान टि-ट्वान्टी विश्वकपको सेमीफाइनलमा

२०७८ कार्तिक १७ बुधबार ११:३५:०० मा प्रकाशित

पाकिस्तान नामिबिया माथि ४५ रनको प्रभावशाली जित हात पार्दै आइसीसी टि ट्वान्टी विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह दुईमा रहेको पाकिस्तानको यो लगातार चौथो जित हो ।

अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । पाकिस्तानको पारीमा कप्तान बाबर आजाम र मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शन जारी रह्यो  ।

यी दुईले पहिलो विकेटका लागि १ सय १३ रनको साझेदारी गरेका थिए । बाबर १४ दशमबल २ ओभरमा ७० रनको व्यक्तिगत स्कोरमा  डेविड वाइजको वलमा आउट भए । ४९ वल खेलेका उनले सात चौका प्रहार गरे । रिजवान ७९ रनमा अविजित रहे  ।

५० वलको सामना गरेका रिजवानले ८ चौका र ४ छक्का हिर्काए । सुस्त सुरुवात गरेका उनले सुरुवाती दश ओभरको  २५ वलमा १६ रन बनाएका थिए । अन्तिम १० ओभरको २५ वलमा ६३ रन जोडे । अन्तिम ओभरमा जेजे स्मिथलाई रिजवानले २४ रन प्रहार गरेका थिए ।

सवैभन्दा महंगो  वलर साविक भएका स्मिथले ४ ओभरमा ५० रन  खर्चिए । फाखर जमान मात्र ५ रनमा मैदान बाहिरिदा मोहम्मद हाफिज ३२ रन बनाउदै अन्तिम समय सम्म क्रिजमा रहे । वाइज र यान फ्राइलिङकले एक एक विकेट लिए । जवाफमा नामिबिया २० ओभरमा ५ विकेट गुमाएर  १ सय ४४ रनमा रोकियो ।

वाइजले सर्वाधिक ४३, क्रेग विलियम्सले  ४० रन जोडे । स्टेफन बार्डले २९ र गेरहार्ड इरस्मले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो रन छुन सकेनन् । हसन अली, इमाद वासिम, ह्यारिस रौफ र सदाव खानले एक एक विकेट लिए । चार खेलबाट शतप्रतिशत नतिजा निकालेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ ।

 खेल अगावै अन्तिम चारमा पुगेको पाकिस्तानले आइतबार स्कटल्यान्डसँग खेल्नेछ । नामिबिया प्रतियोगिताबाट बाहिरियो । अब  अफगानिस्तान, न्युजील्यान्ड र भारत बीच सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।  


 

ताजा खबर