जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनद्वारा चीन र रुसको आलोचना

२०७८ कार्तिक १७ बुधबार ०८:१४:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् । मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताएका हुन् । उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए ।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन् । तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन् । विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ ।

यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन् । देशहरूले सन् २०३० सम्ममा वन विनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन् । वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन् ।

बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए । क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताए।

चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई बाइडनले ठूलो गल्ती भनेका छन् । उनले भने, ‘चीनले विश्व नेताका रुपमा विश्वमा आफ्नो नयाँ भूमिका रहेको देखाउन खोजिरहेको छ र यहाँ भने देखाएको छैन।’

 

ताजा खबर