वर्षा र बाढीले मोरङमा ४१ करोड रुपैयाँ बराबरको क्षति

२०७८ कार्तिक १६ मंगलबार १२:२०:०० मा प्रकाशित

विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल ४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा १६ करोड ८६ लाखको नोक्सानी भएको छ ।

लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी आठ करोड २५ लाख,चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी १२ करोड ६ लाख र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी चार करोड ४४ लाख बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए ।

यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्ने श्रेष्ठले बताए ।

कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जीनियर कृष्ण खतिवडाले बताए ।

यसैगरी चालु आर्थिक वर्षका लागि बक्राहामा ६ स्थानमा रुचार करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा रुएक करोड एक लाख चार हजार, लोहन्दा नदीमा एक स्थानमा ५० लाख ९७ हजार र दंसबक्राहा नदीमा ८३ लाख ३९ हजार बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए ।

वर्षा र बाढीका कारण सुनसरी र मोरङ औद्योगिक करिडोरअन्तर्गत ४१ उद्योगमा दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको उद्योग सङ्गठन मोरङले जनाएको छ ।

मेसिन औजारतर्फ ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुतर्फ ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुतर्फ ७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहर व्यवस्थापनतर्फ एक करोड ७१ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चारस्थानमा र २० शाखाअन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब १० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिए ।

बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए । बाह्र जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, एक हजार ८२५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट तथा झण्डै ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बताइएको छ ।

ताजा खबर