मान्छेको बूढीऔँलाजत्रो चमेरोलाई न्यूजील्यान्डमा 'वर्ष चरो’को उपाधि

२०७८ कार्तिक १५ सोमबार २२:२९:०० मा प्रकाशित

न्यूजील्यान्डमा विवादका बीच एउटा चमेरोलाई ‘वर्ष चरो’ घोषित गरिएको छ । लामो पुच्छर भएको चमेरो अनलाइन मतदानमा सबभन्दा धेरै मत पाएर उक्त उपाधि पाउन सफल भएको हो ।

प्रतिस्पर्धा आयोजकहरूले न्यूजील्यान्डको स्थलमा पाइने अतिसङ्कटापन्न उक्त स्तनधारी जीवलाई चर्चामा ल्याउन मतदान गरिने जीवको सूचीमा राखेका थिए । तर यो उपाधिले कैयौँमा असन्तुष्टि देखिएको छ ।

एक टिप्पणीकर्ताले मुलुक ’ब्याटी’ अर्थात् 'चमेरे' बनेको भनेका छन् । कतिपयले त्यसलाई ’तमासा’ भन्दै नकारात्मक टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा कैयौँले दुई वर्षसम्म प्रयत्न गरेर चमेरोले पाएको आवश्यक चर्चा र विजय भनेका छन् ।

तर प्रतिस्पर्धा आयोजक पर्यावरणवादी समूह ’फरेस्ट एन्ड बर्ड’ले कोरोनाभाइरस महामारी सन्दर्भमा चमेराको छवि सुधार्न गरिएको प्रयत्न नभएको बताएको छ ।

'द बर्ड अफ द यीअर’ प्रतिस्पर्धा न्यूजील्यान्डको जैविक विविधता र खतरामा परेका प्रजातिबारे चेतना जगाउन आयोजना गर्ने गरिन्छ । वैज्ञानिक जगत्मा विद्यमान नियमविरुद्ध जाँदै फरेस्ट एन्ड बर्डले जमिनमा हुने स्तनधारीले पनि चराले जस्तै चुनौती भोगिरहेको भन्दै तीनलाई प्रतिस्पर्धामा राख्ने निर्णय गरेको थियो । लामो पुच्छर भएको चमेरोलाई पेकापेका–टो–रोवा भनेर पनि चिनिन्छ ।

यसको आकार हाम्रो बूढीऔँलाजत्रो हुन्छ । नउड्ने सुगालाई पछाडि पार्दै चमेरोले उपाधि हात पारेको हो । छपन्न हजार ७ सय जनाभन्दा बढीले प्रतिस्पर्धामा आफ्नो मत प्रकट गरेका थिए । चमेरोले ७ हजार भन्दा बढी र गत वर्षको उपाधि हात पारेको ककपोले चार हजार मत प्राप्त गरेको थियो।

ताजा खबर