दक्षिणी मेक्सिकोमा एउटै काठबाट बनेको माया सभ्यताकालीन डुङ्गा फेला

२०७८ कार्तिक १४ आइतबार २३:०४:०० मा प्रकाशित

पुरातत्वविद्हरूले दक्षिणी मेक्सिकोमा एउटै काठबाट बनेको माया सभ्यताकालीन डुङ्गा (क्यानो) फेला पारेका छन् । जुन एक हजार वर्षभन्दा पुरानो भएको हुनसक्ने ठानिएको छ ।

पाँच फिटभन्दा लामो (१.६ मिटर) उक्त डुङ्गा लगभग नबिग्रिएको अक्षुण्ण अवस्थामा फेला पारिएको थियो । माया सभ्यताकालीन शहर चिचेन इत्सा नजिकैको एउटा स्वच्छ पानीको पोखरीमा डुबेको अवस्थामा उक्त डुङ्गा फेला पारिएको थियो ।

मेक्सिकोको प्राचीन वस्तुसम्बन्धी संस्थान इन्हाका अनुसार उक्त डुङ्गा पानी झिक्न वा धार्मिक परम्पराअनुसार केही गाड्न प्रयोग गरिन्थ्यो । त्यस्तो दुर्लभ अन्वेषण माया रेल नाम दिइएको एउटा पर्यटकीय रेल सेवाको निर्माण कार्यका क्रममा गरिएको थियो ।

विज्ञप्तिमा इन्हाले अन्वेषणकर्ताहरूले सेरामिक्स, एउटा धार्मिक प्रयोजनमा प्रयोग हुने चक्कु र सिनोट भनिने भित्तामा कुदिएको हातहरूको रङ्गिन चित्र फेला पारिएको जनाएको छ । पेरिसको सोरबान युनिभर्सिटीका विज्ञहरूले उक्त डुङ्गाको वास्तविक आयु र प्रकार थाहा पाउन सघाइरहेको विज्ञप्तिमा भनिएको छ ।

त्यसको थ्रीडी ढाँचा बनाएर अन्य नमुनाहरू बनाउन सम्भव पारिने र त्यसले थप अध्ययनमा सघाउने बताइएको छ। उक्त डुङ्गा माया सभ्यताको स्वर्ण युगको अन्त्यतिरको समय अर्थात् लगभग इस्वी संवत् ८३० देखि ९५० बीचको रहेको पाइएको छ ।

ताजा खबर