कोरोना भाइरसको उत्पत्तिबारे कहिल्यै पहिचान नहुन पनि सक्ने अमेरिकी निष्कर्ष

२०७८ कार्तिक १३ शनिबार २०:४६:०० मा प्रकाशित

अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् । ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन्।

अफिस अफ द यूएस डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ। तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाणहरू नभएको बताइएको छ । चीनले सो प्रतिवेदनको आलोचना गरेको छ ।

गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०–दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन् । समीक्षामा गुप्तचर समुदाय भाइरसको उत्पत्तिका सम्बन्धमा विभाजित रहेको पनि उल्लेख छ । चार गुप्तचर निकायले यो सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा 'कम विश्वस्त’ रहेको बताएका छन् भने एउटा निकायले पहिलो मानव सङ्क्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट भएको हुन सक्नेमा ’हल्का विश्वस्त’ रहेको बताएको छ ।

सो दुर्घटना वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षणको बेला घटेको हुनसक्ने अनुमान सो निकायले गरेको छ । प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड–१९ को सङ्क्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई कोरोनाभाइरसबारे जानकारी नभएको बताइएको छ ।

तर प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्याएको पनि लेखिएको छ । चिनियाँ अधिकारीहरूले कोभिडको सङ्क्रमणलाई वुहानको समुद्री खाद्य बजारसँग जोड्ने गरेका छन् जसका कारण वैज्ञानिकहरू कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताउँछन् ।

तर यो वर्षको सुरुमा अमेरिकी सञ्चारमाध्यमहरूले वुहानको प्रयोगशालाबाट दुर्घटनावश भाइरस फैलिएको हुन सक्ने विवरण प्रकाशित गरेका थिए। चीनले यो कुरा अस्वीकार गर्ने गरेको छ । गत मे महिनामा बाइडनले गुप्तचर अधिकारीहरूलाई भाइरसको उत्पत्तिको अनुसन्धान गर्न आदेश दिएका थिए।

 

ताजा खबर