टोङ्गामा पहिलो कोभिड घटना पुष्टि

२०७८ कार्तिक १३ शनिबार २०:४४:०० मा प्रकाशित

शुक्रवार प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको छ । एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको थियो जो उडानमार्फत न्यूजील्यान्डबाट आएका थिए ।

टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गाटपुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन् । टोङ्गा कोभिड सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो । उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिसहरू बस्छन् जुन न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ । टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन् ।

तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन् । सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन् ।

सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ जो टोक्यो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो । न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ ।

तर टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीबार सङ्क्रमण पुष्टि भएको जनाएका छन् । त्यस्तो परीक्षण त्यहाँ अनिवार्य गरिएको एकान्तबासका हुने गर्छ । टोङ्गाको स्वास्थ्य मन्त्रालयका प्रमुख कार्यकारीले पत्रकारहरूलाई बताए अनुसार सङ्क्रमित व्यक्तिले अक्टोबरमा खोप लगाएका थिए । जसले गर्दा उनी गम्भीर बिरामी नहुने अधिकारीहरूले ठानेका छन् ।

ताजा खबर