पाकिस्तान टि-ट्वान्टी विश्वकपको सेमीफाइनल नजिक

२०७८ कार्तिक १३ शनिबार १५:११:०० मा प्रकाशित

पाकिस्तान आइसीसी टि ट्वान्टी विश्वकपको सेमीफाइनल नजिक पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो । जारी प्रतियोगितामा पाकिस्तानको यो लगातार तेस्रो जित हो ।

अफगानिस्तानले दिएको  १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ६ वल बांकी हुँदा ५ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको पारीमा फेरि एक पटक बाबर आजमले उत्कृष्ट प्रदर्शन गरे । उनले सर्वाधिक ५१ रनको योगदान गरे । कप्तान बाबर १७ औं ओभरमा रासिद खानको वलमा आउट भएका थिए । रोमान्चक बनेको खेलमा पाकिस्तानलाइ अन्तिम  १२ वलमा २४ रन आवश्यक थियो ।  तर १९ औं ओभरमा आसिफ अलिले  करिम जन्नतलाइ ६ छक्का प्रहार गरेपछि पाकिस्तानले ६ वल अगावै खेल जित्यो  ।

अलि २५ रनमा अविजीत रहे  । फाखर जमानले ३०, सोएब मल्लिकले १९ र मोहम्मद हाफिजले १० रन जोडे । रासिदले २, मुजिब उर रहमान, मोहम्मद नाबी र नाभिन उल हकले १–१ विकेट लिए । यसअघि दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो ।

माथिल्लो क्रमका ब्याट्सम्यानले खराब प्रदर्शन गर्दा अफगानिस्तान सामान्य योगफलमा रोकिएको थियो । हज्रातुल्लाह जाजाइ शुन्य, मोहम्मद शाहजाद ८, रहमानुल्लाह गुरबाज र अस्गर अफगान १०–१० रनमा पवेलियन फर्किए । जन्नतले १५ र नाजिबुल्लाह जद्रानले २२ रन जोडे ।

सातौं विकेटका लागि नाबी र गुल्बादिन नइबले ७१ रनको साझेदारी गरेका थिए । दुबैले समान ३५ रन बनाए   । इमान वासिमले २, साहिन साह अफ्रिदी,ह्यारिस रौफ, हसन अली र सदाब खानले १–१ विकेट लिए । सुपर १२ को समुह दुईमा रहेको पाकिस्तान तीन खेलबाट  ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अफगानिस्तान दुई खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा छ ।   
 

ताजा खबर