उपमेयर महिला फुटबलमा वीरेन्द्रनगरको जित

२०७८ कार्तिक १२ शुक्रबार २३:०८:०० मा प्रकाशित

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँग ४–१ गोल अन्तरले पराजित भएसँगै पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा वीरेन्द्रनगर नगरपालिकासँग पराजित भएसँगै जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

उता जित निकालेको विरेन्द्र नगरले जारी प्रतियोगितामा सखुद सुरुवात गरेको छ । सुरुवातबाट नै दबाब दिएर खेलेको वीरेन्द्रनगरले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को जित निश्चित गरेको थियो । वीरेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन् ।

समित्राले ३७औं र ७२औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै कप्तान सम्झना शर्माले ३१औं मिनेटमा गोलको खाता खोल्दा सुस्मिता तामाङले खेल सकिन दुई मिनेट बाँकी रहँदा चौथो गोल गर्दै टोलीको जित निश्चित बनाएकी थिइन् । पोखराकी झरना चाम्लिङ राईले ३८औं मिनेटमा गरेको गोल पोखराका लागि सान्तोवना गोल बनेको थियो ।

जितसँगै वीरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ । जितले विरेन्द्रनगरलाई नकआउट चरणमा पुग्ने आशा बलियो भएको छ । लगातार दोस्रो हार ब्यहोरेको पोखरा भने बाहिरिएको हो । प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा तुलसीपुर नगरपालिकाले हेटौडा उपमहानगरपालिकामाथि २–० को रोमाञ्चक जित निकाल्दै जारी प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफ भन्दा दोस्रो हाफमा फरक रणनीतिका साथ खेलेको तुलसीपुरले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

तुलसीपुरको जितमा ममता पुन मगर ७७औ र मेनुका आले मगरले ७९औं मिनेट समान एक/एक गोल गर्दा जित सुनिश्चत भएको थियो । जितसँगै समूह एफको तुलसीपुरले ३ अंक जोडेको छ । यता हेटौडाले भने लगातार दोस्रो खेलमा नतिजा सुम्पिएर प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् ।

पहिलो खेल बेदकोट नगरपालिका र गौरीगंगा नगरपालिका, दोस्रो खेल सुनकोसी र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

ताजा खबर