ए डिभिजन लिगको पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो युथ भिड्ने

२०७८ कार्तिक १२ शुक्रबार २२:४३:०० मा प्रकाशित

काठमाडौ । कात्तिक २९ गते देखी आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने भएका छन् ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको तालिका सार्वजनिक कार्यक्रमबाट  फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच उद्घाटन खेल हुने टुङ्गो लागेको हो । उद्घाटन खेल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुनेछ ।

पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुने आयोज एन्फाले जानकारी दियो । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछन भने दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलस्थित टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रंगशालामा खेल हुन सक्ने एन्फाले जनाएको छ ।

एन्फाले हाललाई सुरुवाती २ चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।
फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । यस्तै उदियमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।
 

ताजा खबर