इन्टेग्रीटी आइकन २०२१ बाट पाँच कर्मचारी सम्मानित

२०७८ कार्तिक १२ शुक्रबार २१:४५:०० मा प्रकाशित

काठमाडौं । यसवर्ष अकाउन्टीबिलिटी ल्याब नेपाललको ‘इन्टेग्रीटी आइकन नेपाल २०२१’ बाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा लोकबहादुर लोप्चन छन् । पाँचै जनालाई शुक्रबार सम्मानित गरिएको हो ।

सेवाग्राहीको सुझावका आधारमा पाँचै जनालाई छुट्टाछुट्टै शीर्षकमा सम्मान प्रदान गरिएको हो । जस अन्तर्गत, शिला शर्मा ‘दृढ र सहृदयी’, मनमाया भट्टराई पङ्गेनी ‘प्रेरणादायी र निडर’, चन्द्रकान्त चौधरी ‘नवप्रवर्तनकारी र दूरदर्शी’, डा सुमित्रा गौतम ‘कर्मनिष्ठ र रुपान्तरणकारी’ र डा लोकबहादुर लोप्चन ‘अटल र लगनशील’ भन्दै सम्मानित भएका छन् ।

ल्याब नेपालले सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने पाँच जना कर्मचारीको नाम यही कात्तिक ५ गते सार्वजनिक गरेको थियो । यसवर्षका इन्टेग्रीटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जनाको नाम छनौट गरिएको ल्याब नेपालका कार्यक्रम संयोजक अस्मिता शर्माले बताइन् ।

संयोजक शर्माका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आइकन प्रदान गरिएको हो । कार्यक्रममा माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले राम्रो काम गर्ने मान्छे बिचलित नभई सेवालाई निरन्तरता दिने हो भने उ अरुका लागि पनि उदाहरण बन्न सक्छ भन्ने धारणा राािखन् । विगत आठ वर्षदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।

ताजा खबर