सर्पभन्दा विषालु मान्छे

२०७८ कार्तिक १२ शुक्रबार १७:११:०० मा प्रकाशित

काठमाडौं । २०७८ असोजमा भारतको केरला राज्यमा आफ्नी श्रीमतीलाई गोमन सर्पले टोकाएर हत्या गरेको आरोपमा श्रीमान सुरजकुमार पक्राउ परे । 

आफ्नै ओछयानमा मृत भेटिएकी २५ वर्षीया श्रीमती उथ्राको मृत्यु सर्पले डसेर भएको सुरजकुमारको दावी थियो । 

गत वर्षको यो घटनामा प्रहरी अनुसन्धानबाट श्रीमानले नै गोमन सर्प किनेर घरमा ल्याइ श्रीमतीलाई डसाएको खुलेको हो । 

भारतीयले अदालतले श्रीमती सुतेको बेडमा कोब्रा सर्प लगेर छोडेकोमा दोषी ठहर गर्दै सुरजकुमारलाई जन्म कैदको फैसला गरेको छ । 

सुरजकुमारले विश्वकै विषालुमध्ये एक गोमन सर्प ७ हजार भारुमा खरिद गरेका थिए । उनले सपेरा सुरेशकुमारसँग प्लास्टीकको भाँडामा राखी सर्प घरमा ल्याएका थिए । प्रहरीले सपेरा सुरेशकुमारलाई पनि पक्राउ गरेको छ । 

भारतमा यस्ता घटना दिनहुँ भइरहेका हुन्छन् । यसखालको असामान्य अपराधबाट नेपाली समाज पनि अछुतो छैन । घरायसी झगडा र सानातिना निहुँमा पनि हत्याजस्ता जघन्य अपराधका घटना बढदै गएका छन् । केही महिना यताकै घटना नियाल्ने हो भने कतै चुरोटको निहुँमा त कतै मासु कम दिएको बहानामा आफन्तकै हत्या भएका छन् । 

मासुको झगडामा बाबुले छोरा मारे

वर्ष २०७८, २६ असोजमा सल्यानमा बाबुले छोराको हत्या गरे । बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका  ५५ वर्षीय नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी ३३ वर्षीय छोरा रुपलाल कवरको हत्या गरेका हुन् । 

निहुँ थियो, मासु । दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै छोरासँग झगडा गरेका थिए । 

राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा गए, बाबुले धारिलो हतियार प्रयोग गरी त्यही उनको हत्या गरिदिए । अभियुक्त बाबु पक्राउ परेका छन् । 

‘चुरोट चोरीस्’ भन्दै साथीको हत्या

वर्ष २०७७ कार्तिकको घटना हो । पोखरा–६ बसुन्धरा पार्कस्थित कृष्ण चौधरीको डेरामा नन्दलाल श्रेष्ठ खाना खान गएका थिए । 

सो साँझ उनीहरुले बाहिर सँगै मदिरा पिएका थिए । खाना खानेक्रममा दुबै नव परिचित मित्रहरुविच सानो निहुँमा झगडा भयो । पोखरामै भर्खर चिनजान भएका दाङ घोराहीका २५ वर्षीय चौधरीमाथि सानो निहुँमै सिन्धुलीका श्रेष्ठले आगो बाल्ने चुल्होको ढुंगा प्रहार गरे । उपचारका क्रममा भोलीपल्ट चौधरीको मृत्यु भयो । 

झगडाको निहुँ थियो, चुरोट । श्रेष्ठले चौधरीमाथि चुरोट चोरेको आरोप लगाएका थिए । बिबाद बढदै गयो र त्यसले साँघातिक हमलाको रुप लियो ।  

भर्खरका युवा नन्दलाल श्रेष्ठ हत्या अभियोगमा पक्राउ परेका छन् । श्रेष्ठको क्रोधको क्षणिक आवेगले उनको भविश्य चौपट मात्र पारेन, अर्का युवाको प्राण नै लियो । 

वर्ष २०७७ मंसिरको अर्को घटना । कपिलवस्तु, शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ वर्षीया शुसीला खड्काको हत्या गरे, उनकै भदाहाले । 

फूपू शुसीला र भदाहा तोरणबहादुर खड्काले मंसिर २७ मा सँगै बसेर मदिरा पिएका थिए । भदाहाले जब थप मदिरा किन्न फुपुसँग ५० रुपैयाँ मागे, फुपुले दिइनन् । ५० रुपैयाँ नदिएको झोंकमा तोरणबहादुरले इटा र सिलौटोले टाउकोमा हानेर फुपुको हत्या गरे । 

कुलदेवताको निहुँमा दाजुले भाइ मारे 

महोत्तरीमा घरको कुलदेवताकै बारेमा विवाद हुँदा दाजुले भाइकै हत्या गरेका छन् । महोत्तरी, लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहले निर्घात कुटेर कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरे । 

कुलदेवता भाइ लक्ष्मणको घरमा थियो । कुलदेवता ल्याउने विषयमा दाजुभाइबीच झगडा हुँदा रामचन्द्रको परिवारै मिलेर लक्ष्मणलाई मरणासन्न हुने गरी कुटे, उपचारका क्रममा उनको मृत्यु भयो । 

पागल भनेकै झोंकमा ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या भयो । हत्या अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्की पक्राउ परे ।
 
गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वता कार्की, श्रीमती ५४ वर्षीया मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति १० वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको २०७८, २१ भदौमा चिर्पट प्रहार गरी हत्या गरिएको थियो । 

तेजबहादुरको बयानका क्रममा ‘आफूलाई पटक पटक पागल र काम गर्न नसक्ने भनेकाले रिसको झोकमा दाउराको चिर्पटले हानेर हत्या गरेको’ स्वीकारेका छन् । 
 

ताजा खबर