अझै टालिएन बानेश्वरको ‘भाइरल भ्वाङ’ 

२०७८ कार्तिक १२ शुक्रबार १६:४५:०० मा प्रकाशित

काठमाडौं । नयाँ बानेश्वरको सडकमा देखिएको भ्वाङ एक साता बितिसक्दा पनि टालीएको छैन । ठूलै निर्माण आयोजना सम्पन्न गर्न लागे झैं मर्मतमा विलम्ब भइरहेको छ । 

उत्तरमा छेउमै संघीय संसद भवन छ । दक्षिणमा सिभिल अस्पताल र भिनभवन क्याम्पस । भक्तपुरलाई काठमाडौंसँग जोड्ने मात्र हैन, घना वस्तीको चहलपहलको केन्द्र भएकाले यो सडक अति व्यस्त मानिन्छ । 

पुर्नकै लागि यति लामो समय लाग्नुपर्ने भ्वाङ हैन यो । तदारुकताका साथ मर्मत गर्ने हो भने बढीमा एक दिनमै फत्ते हुने हो । एक साता बित्न लाग्दा पनि सडकमा रमीता जारी छ, यसले हाम्रा निकायहरुमा व्याप्त ढिलासुस्ती र गैरजिम्मेवारपन झल्काउँछ । 

‘यति जाबो खाल्डो पुर्न अझै सक्याछैनन्, के यहाँ धरहरा नै बनाउन लाग्या हो र ?’,  भक्तपुर, धुन्चोपाखाकी चन्द्रकला कुवँर भन्छिन् । 
 
नयाँ बानेश्वरकै एक कन्सल्टेन्सीमा काम गर्ने कुवँरको कार्यालयबाट सडकको भ्वाङ मर्मत भइरहेको देखिन्छ ।

‘संसदकै छेउको भ्वाङ पुर्न त यतिका दिन लगाउनेले कसरी देश विकास गर्लान् ?’, कुँवर भन्छिन् । 

सिभिल अस्पतालमा आफन्तको उपचारका लागि आएका रामेछाप, मन्थलीका विकास तामाङ पनि व्यस्त सडकको खाल्डो पुर्न भइरहेको ढिलाइ देखेर छक्क छन् ।
 
‘काठमाडौंको बिचमा रहेको व्यस्त सडकको काम त फटाफट हुनुपर्ने हो, यति खाल्डो पुर्न पनि किन ढिलो भइरहेको होला ?’, विकास भन्छन्, ‘पक्कै यसमा पनि खाने दाउ हेरिरहेका होलान् ।’

यो सडकको महत्व केबाट पनि झल्कीन्छ भने, भ्वाङ परेको खबर रातारात भइरल भयो । हुन त, यस्ता खाल्डाखुल्डीले नै देशभरका सडक भरिएका छन् । राजमार्गदेखि शहरभित्रका सडकमा निम्नकोटीको निर्माणका कारण सडकमा खाल्डाखुल्डी पर्नु र अलकत्रा उप्कीन थाल्नु अनौठो हैन । तर, बानेश्वरको सडकमा भ्वाङ परेको खबरले सनसनी मच्चायो । मिडियाले यो खबरलाई प्रमुखताका साथ स्थान दिए । 

भ्वाङ मर्मत गर्ने क्रममा जब डोजरले खन्न थाल्यो, त्यहाँ ठूलै खाल्डो देखियो । करीब ५० करोड रुपैयाँ लागतको माइतीघर–तीनकुने सडक खण्डमा ६ वर्ष नबित्दै भ्वाङ पर्नुले निर्माणस्तर कति कमसल रहेछ भन्ने पनि स्पष्ट हुन्छ । 

विकास आयोजनामा कमीसन र पहुँचका भरमा चयन गरिने निर्माण कम्पनीले कसरी हेलचेक्रयाईं गर्दा रहेछन् भन्ने यसबाट छर्लङ भएको छ । यो खासमा मुलुकको सडक निर्माणकै स्तरमा परेको भ्वाङ हो, जहाँबाट बेथिति नियाल्न सकिन्छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण विरुवा नामक निर्माण कम्पनीलाई करीब ६ वर्षअघि यो सडक निर्माणको जिम्मा दिएको थियो ।
 
आठ लेन फराकिलो सडकमा दुबैतर्फ अढाई मिटर फुटपाथ, अढाई मिटर साइकल लेन र विचमा हरियाली बगैंचा देख्दा सुरुमा सबैको मन मोहित भएको थियो । 

बाहिर बगैचाको तामझाम गरिए पनि भित्री निर्माण खोक्रो रहेछ भन्ने पोल हालैको ‘भाइरल भ्वाङ’ले खोलेको छ । निर्माण सम्पन्न भएको एक वर्षपछि नै यो सडक खण्डमा खाल्डा खुल्डी पर्दै आएपछि गुणस्तरमाथि प्रश्न उठीरहेकै छ । 

११ कार्तिकमा अनुगमनका लागि गएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले एकसाताभित्रै काम सकिने बताएका छन् । अर्थात यो खाल्डो पुर्न अझै केही दिन लाग्नेछ । 

शाक्यका अनुसार मंगालको भित्ता भत्किएको र पानी धेरै आएकाले सडकको भित्री भाग बगायो, जसले सडकमा भ्वाङ पा¥यो । ‘भत्किएको मंगालमा डन्डी राखिएको रहेनछ । अनि ढलान पनि नगरिएको पाइयो’, शाक्य भन्छन्, ‘पानी धेरै परेकाले बगाएको हो ।’

‘मंगाल राम्रोसँग नबनाउँदा र ढलानको काम नियम अनुसार नगर्दा समस्या आएको’ कार्यकारी अधिकृत शाक्यको भनाइबाटै ठेकेदारहरुले राज्यलाई ठगेको स्पष्ट हुन्छ । 

‘भ्वाङ पुर्न एउटा बेथिति, अहिलेसम्म भ्वाङ टाल्न नसक्नु अर्को बेथिति’, तिनकुनेका अटोमोबाइल्स संचालन गर्ने गीतकार सुरेन्द्र महर्जन अमर भन्छन्, ‘बानेश्वरको सडकमा मात्र हैन, सिंगो देशमै यस्तै बेथितिले जताततै भ्वाङ पारेको छ । कति ठाउँ टाल्ने ?’
 
 

ताजा खबर