फेसबुकद्वारा कम्पनीको नाम परिवर्तन

२०७८ कार्तिक १२ शुक्रबार ०७:५८:०० मा प्रकाशित

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ ।

यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन। माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो । एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो ।

ती पूर्व कर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले 'सुरक्षाभन्दा माथि नाफा' राखेको आरोप लगाएकी छन् । सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो । फेसबुकका प्रमुख मार्क जकरबर्गले “मेटाभर्स“ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् ।

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन् । उनले अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताए । कम्पनीले बिहीवार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ।

जकरबर्गले भने, ‘हामी अहिले हाम्रो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेका छौं। एउटा हाम्रो एपहरूको लागि र अर्को भावी प्लेटफर्ममा हामीले काम गर्न खोजिरहेका छौं।’ यसअघि बुढी औँला माथितिर फर्किएको “लाइक“ लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ।

 

ताजा खबर