औषधिमा गरिएको मूल्यवृद्धिकाबारेमा छानविन गरिने

२०७८ कार्तिक ११ बिहीबार २०:४९:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गर्ने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताएका हुन् ।

उनले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानविन गर्ने भएको हो ।

“कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ”, उनले भने, “औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहनुभएको छ । दुई÷चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।”

उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथैै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ भारतीयमा र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।

ताजा खबर