कुकुर, काग, गाई र गोरु तिहारलाई विश्व दिवस बनाउन अभियान सुरु

२०७८ कार्तिक ११ बिहीबार १७:१२:०० मा प्रकाशित

काठमाडौं । तिहारका कुकुर, काग, गाई र गोरु पूजाका दिनलाई अन्तर्राष्ट्रिय (विश्व) दिवस घोषणा गराउन नेपालबाट अभियान थालिएको छ । यसका लागि प्राणी हित जागरण अभियान गठन गरिएको छ ।

यो अभियानले गाई, कुकुर, गोरु र गाई तिहारका दिनलाई अन्तर्राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने भनेको छ । यसका लागि अभियानले संयुक्त राष्ट्रसंघ, युनेस्को, विश्व वन्यजन्तु कोष तथा नेपाल सरकारलाई अपिल पनि गरेको छ । 

काठमाडौंमा भएको एक भेलाले शोभा मास्के रेग्मीको अध्यक्षतामा एक समिति बनाएको छ । वयोवृद्ध शोभा मास्के दम रोगले थलिएर बसेकी छन् र उनी विगतमा कुनै संघसंस्थामा आवद्ध थिईनन् । प्राणी प्रतिको शोभा मास्केको प्रेमको कदर गर्दै भेलाले उनलाई अध्यक्ष चयन गरेको हो । समितिले अन्तर्राष्ट्रिय गाई दिवस, अन्तर्राष्ट्रिय गोरु दिवस, अन्तर्राष्ट्रिय काग दिवस र अन्तर्राष्ट्रिय कुकुर दिवस घोषणा गर्न अभियान थालेको हो ।

 

अहिले अगस्ट २६ लाई विश्वका विभिन्न भागमा अन्तर्राष्ट्रिय कुकुर दिवसका रुपमा मनाइन्छ । सन् २००४ मा अमेरिकाका एक व्यक्तिले आफूले कुकुर पाल्न थालेको उपलक्ष्यमा अन्तर्राष्ट्रिय कुकुर दिवस घोषणा गरेका थिए । त्यसयता विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय कुकुर दिवस मनाइन्छ । त्यसैगरी सन् २००५ मा अमेरिकामै केही व्यक्तिले ठट्यौलो पाराले अन्तर्राष्ट्रिय गाई दिवस सुरु गरेका थिए । 

‘नेपालको कुकुर तिहार र गाई तिहारका दिनलाई विश्व या अन्तर्राष्ट्रिय कुकुर दिवस र गाई दिवस मनाउनु उपयुक्त हुन्छ’– नवगठित समितिकी महासचिव शोभाश्री शाक्य भन्छिन्– ‘त्यसैगरी काग र गोरु तिहारका दिनलाई पनि अन्तर्राष्ट्रिय दिवस घोषणा गर्न विश्व संस्थाहरु र नेपाल सरकार अगाडि बढ्नुपर्छ ।’

नेपालको कुकर तिहारलाई कुकुर दिवसका रुपमा मेक्सिको लगायतका देशहरुमा मनाउन थालिएको छ । तिहार अर्थात् यमपञ्चकका पाँच दिनमा गाई, कुकुर, गोरु र कागको पूजा गरिन्छ । पशुपंक्षीलाई सम्मान र स्नेह दिँदै पूजा गरिने देश नेपाल मात्र हो । नेपालको तिहारले समस्त प्राणी तथा पशुपंक्षीप्रतिको प्रेम बोकेको हुनाले यसैलाई अन्तर्राष्ट्रिय (विश्व) दिवसका रुपमा मनाउनुपर्ने प्राणी हित जागरण अभियानको भनाई छ । 

अभियानको उपाध्यक्ष रमला तुलाधर, सचिव बिमला थापा, कोषाध्यक्ष एन्जेल शाक्य छन् । त्यसैगरी समितिमा विक्रम केसी, सौरमराज तुलाधर, सूर्य थापा र सविता गुरुङ सदस्य रहेका छन् । समितिका सल्लाहकार गोविन्द थापा छन् । गोविन्द थापाको भनाई छ– ‘नेपाल र भारत सहित विभिन्न देशका करोडौं मानिसले तिहारमा गाई, गोरु, कुकुर र कागको पूजा गर्छन् । त्यसैले यिनै दिनलाई ती पशुपंक्षीको अन्तर्राष्ट्रिय अथवा विश्व दिवस घोषणा गरेर विश्वभरी मनाउनुपर्छ । यसका लागि सबै विश्वसंस्थाहरु र नेपाल सरकारलाई हामी अपिल गर्दछौं ।’


समितिकी उपाध्यक्ष रमला तुलाधरले यस वर्षको गाई तिहार र कुकुर तिहारका दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक पूजा गरेर अन्तर्राष्ट्रिय गाई दिवस, अन्तर्राष्ट्रिय कुकुर दिवस, अन्तर्राष्ट्रिय गोरु दिवस र अन्तर्राष्ट्रिय काग दिवस मनाउन थालिने बताईन् । विश्वभरी छरिएर रहेका नेपालीहरुले काग, कुकुर, गोरु र गाई तिहारलाई अन्तराष्ट्रिय दिवसका रुपमा पनि मनाउन उनले अपिल गरेकी छन् ।

‘यस वर्षबाट विभिन्न देशमा रहनुभएका नेपालीले ती देशका नागरिकहरुसँग मिलेर तिहार पर्वका साथै कुकुर, काग, गाई र गोरु दिवस मनाउन थाल्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौं’– महासचिव शोभाश्रीले भनिन् ।

थप जानकारीका लागि सम्पर्क
शोभाश्री– ९८६९५९९०१९
रमला– ९८४१३९६४९०
विक्रम– ९८४९२१६१५२

ताजा खबर