बझाङ पहिरो : बेपत्ता १९ जना अझै भेटिएनन्

२०७८ कार्तिक ११ बिहीबार १५:३९:०० मा प्रकाशित

बझाङ । बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ ।

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ ।

घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए । “जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ”, उनले भने । आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

वडाध्यक्षको निधन

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ । श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा बिहीबार डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन् । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

ताजा खबर