नेपालीहरुको सद्भाव र  मायाका कारण फर्किएँः मुख्य प्रशिक्षक अल्मुताइरी

२०७८ कार्तिक ११ बिहीबार ०९:५१:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटवल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालीहरुको सद्भाव र  आफूप्रति देखाएको मायाका कारण पुनः फर्किएको प्रतिक्रिया दिएका छन् । अल्मुताइरीले बुधबार सामाजिक संजालमार्फत अखिल नेपाल फुटबल संघसँग  तीन वर्षका लागि सम्झौता थप गर्न सहमत भएको जानकारी गराएका थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र  कतार फुटवल संघ बीचको छलफलपछि नेपाल आउन तयार भएको अल्मुताइरीले बताएका थिए । आफू नेपाल फर्कनुमा कतार फुटबल संघको महत्वपूर्ण हात रहेको उनको भनाइ छ ।  

अल्मुताइरीले सम्झौता थप गर्ने विषयमा भएको छलफलका क्रममा कतार फुटवल संघले नेपालीहरुले   निर्णय फिर्ता लिन आग्रह गरेको १५ मिनेटको भिडियो देखाएको उल्लेख गरे । अल्मुताइरीले भने,‘प्रशिक्षकका रुपमा विश्वभरका नेपालीले दिएको माया पैसाले किन्न नसकिने हुँदा नाइँ भन्न सकिन ।’

अल्मुताइरीको सम्झौता सन् २०२२ को जनवरीदेखि लागू भएर  २०२४ को डिसेम्बरमा सकिनेछ । सम्झौतामा अर्को दुई वर्ष थप्न सकिने शर्त पनि छ । यदि सवै सही भए अल्मुताइरी २०२६ सम्म नेपालमै रहनेछ ।  नेपालले अब एएफसी एशिया कप छनोटको तेस्रो चरण खेल्दैछ । कुराकानीका क्रममा अल्मुताइरीले अबको दुई वर्षमा नेपाललाई फिफा वरियताको १ सय ५० औं स्थान सम्म पुर्याउने लक्ष्य रहेको  बताए ।

आगामी दुई वर्षका लागि तयार गरेको योजना र पुग्नु पर्ने लक्ष्य छिट्टै सार्वजनिक गर्ने अल्मुताइरीले सामाजिक संजालमा लेखेका छन् ।  उनको नेतृत्वमा नेपाल साफ इतिहासमै पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग नेपाल तीन शून्य गोलले पराजित भयो । बंगलादेशसँग एक एक गोलको बराबरी खेलेपछि नेपालले फाइनलमा स्थन बनाएको थियो ।

सोही खेल पछिको पत्रकार सम्मेलनमा अल्मुताइरीले आक्रमक रुपमा प्रस्तुत हुँदै नेपाली टोलीको प्रशिक्षकका रुपमा साफको फाइनल अन्तिम हुने निर्णय सुनाएका थिए । त्यसअघि पनि गत साउनमा उनले समाजिक संजालमानै उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न नदिएको भन्दै राजीनामा दिने उल्लेख गरेका थिए ।

मैदानभित्र नेपाली टिममा सकारात्मक परिवर्तन ल्याएका अल्मुताइरी मैदान बाहिर भने विवादित पनि छन् । अहिलेसम्म अल्मुताइरीले टिम सम्हालेयता नेपालले ११ खेलमा तीनमा जित, दुईमा बराबरी र ६ खेलमा हार बेहोरेको छ ।  
 

ताजा खबर