मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने

२०७८ कार्तिक १० बुधबार १७:४५:०० मा प्रकाशित

काठमाडौं । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ।

नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरी आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत महशुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिए ।

उनले विपन्न नागरिकहरुलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरुलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको बताए ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ । उनले आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको बताए ।

आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ । त्यस्तै आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।

आयोगले व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक–फरक महशुल तिर्नुपर्ने छ ।

यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महशुल थियो । आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महशुल दर घटाएको छ ।

 

ताजा खबर