पुष्प व्यवसायमा युवाको आकर्षण

२०७८ कार्तिक ९ मंगलबार १२:४५:०० मा प्रकाशित

चितवन । चितवन जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् ।

अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गरेका छन् । अहिले उनीहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन् । कृर्षिमा अध्ययन गरेका यादव र इञ्जीनियरीङ पढेका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लागेका हुन् । सुरुवाती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गरेका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन् ।

भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उनीहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गरेका छन् भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहेका छन् । यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उनीहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन् । यादवले भने, “व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ ।”

अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको उनले बताए । उनले भने, “एक सय बिरुवाबाट सुरुआतीमा १० हजार नाफा भएको थियो ।

त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो ।” उनीहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गरेका थिए । दोस्रो वर्षमा एक लाख र तेस्रो वर्षमा दुई लाख नाफा भएपछि उनीहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताए ।

कार्कीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ । यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् ।

फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउँछन् । विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गरेका छन् ।

उनले भने, “अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।” अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उनले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताए । उनले भने, “चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो ।”

एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताए । यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उनले बताए ।

उनले भने, “लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक हुनुहुन्छ । अरु सबै आंशिकरूपमा हो ।” गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उनको भनाइ छ । खेती गर्ने अधिकांश युवा रहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन् ।

जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उनले भने, “हामीले चितवनको बजारमा अहिले दुई लाख माला पुर्याउने लक्ष्य लिएका छौँ ।” यहाँ पाँच लाख माला खपत हुने उनको अनुमान छ । जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उनले जानकारी दिए । अन्य छिमेकी जिल्लाबाट आउने उनले बताए ।

आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उनको भनाइ छ । अहिले बजारमा मालाको मूल्य ८० र एक किलो फूलको २५० रुपैयाँ भन्दामाथि नजाने उनले जानकारी दिए । अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् ।

ताजा खबर