जापानी राजकुमारी माकोले गरिन् प्रेमीसँग विवाह, गुम्यो शाही पदवी

२०७८ कार्तिक ९ मंगलबार १२:०७:०० मा प्रकाशित

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन् । सर्वसाधारण नागरिकसँग विवाह गरेपछि उनको शाही पदवी गुमेको छ । कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए ।

जापानको कानुनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन । राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन्।

अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरिन् । यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन् । नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ। कोमुरो अमेरिकामा वकिल छन् ।

माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ। केहीले उनीहरूलाई जापानका ह्यारी र मेगन को सङ्ज्ञा दिएका छन् ।

उनको सम्बन्ध जापानी राजकुमारीसँग भएको घोषणा गरिएपछि कोमुरोलाई पनि मार्कलको जस्तै चियोचर्चो गरिएको थियो। जापान फर्किएको बेला उनले पालेको कपालका कारण कोमुरोको आलोचना भएको थियो ।

जापानी राजकुमारीसँग विवाह गर्न लागेका व्यक्तिका लागि त्यस्तो केशराशि अशोभनीय भएको केहीको भनाइ थियो । राजकुमारी माको मङ्गलबार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन् ।

त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन् । दरबारबाट बाहिर निस्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लेख छ ।

ताजा खबर