सुडानमा 'सैन्य कू' को विरोधमा व्यापक प्रदर्शन, सात प्रदर्शनकारीको मृत्यु

२०७८ कार्तिक ९ मंगलबार ०८:४१:०० मा प्रकाशित

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएका र करिब १४० जना घाइते भएका छन् । सेनाले सोमबार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैरसैनिक शासन विघटन गर्दै सङ्कटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ ।

सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ । कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन् ।

सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ सोमबार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गरेका छन् ।

सुडानस्थित डाक्टरहरूको सङ्घ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको बताएका छन् । विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन् ।

 

ताजा खबर