पाँचथरमा बस दुर्घटना, दुई जनाको मृत्यु, ६० भन्दाबढी घाइते

२०७८ कार्तिक ८ सोमबार १४:२१:०० मा प्रकाशित

पाँचजर । पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ।

चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

ताजा खबर