अमेरिकासहित १० देशका राजदूत फिर्ता पठाउने टर्कीको निर्णय

२०७८ कार्तिक ८ सोमबार ०८:३०:०० मा प्रकाशित

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय गरेका छन् । कूटनीतिक भाषामा ’पर्सना नन ग्राटा’ भनिने राष्ट्रपति एर्दोआनको आदेशपछि टर्कीले ती देशका राजदूतलाई अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्छ ।

चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य आएपछि उक्त कदम चालिएको हो । पर्सना नन ग्राटा राजदूतहरूको कूटनीतिक हैसियत हटाउनुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो ।

गत साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतावासहरूबाट कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी भएको थियो । तीमध्ये सात देश टर्कीका नेटो सहयोगी हुन् ।

युरोपको प्रमुख मानवअधिकार निगरानी गर्ने संस्था काउन्सिल अफ युरोपले कुभालालाई रिहाइ गर्ने मानव अधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न अन्तिम चेतावनी दिएको छ शनिवार एक भेलालाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोआनले राजदूतहरूले टर्कीको परराष्ट्र मन्त्रालयमा आएर आदेश जारी गर्ने हिम्मत गर्न नसक्ने बताए ।

यस विषयमा सम्बन्धित देशका राजदूतहरूले प्रतिक्रिया जनाएका छैनन्। यद्यपि जर्मनीको विदेश मन्त्रालयले यसमा जोडिएका देशहरू गहन छलफलमा रहेको बताएको छ । यस विषयमा टर्कीका निकायहरूले आधिकारिक सूचना समेत जारी गरेका छैनन् । दूतावासहरूको वक्तव्यमा कुभालाको मुद्दामा निरन्तर ढिलाइ गरिएकोमा आलोचना गरिएको थियो।

घटनाले टर्कीको प्रजातन्त्रप्रतिको सम्मान, कानुनी शासन र न्यायिक प्रणालीमा पारदर्शिता छायामा परेको वक्तव्यमा उल्लेख थियो । कुभाला सन् २०१३ मा देशव्यापी विरोध प्रदर्शनसम्बन्धी अभियोगमा निर्दोष ठहर भएका थिए।

तर रिहालगत्तै उनलाई पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई दिइएको सफाइ उल्टाउँदै सन् २०१६ मा एर्दोआन सरकारविरुद्ध सैन्य कूको असफल प्रयास गरेको लगायत नयाँ अभियोगहरू थपिएका थिए ।

ताजा खबर