कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट बढी सङ्क्रामक

२०७८ कार्तिक ७ आइतबार ०८:३४:०० मा प्रकाशित

बेलायतका विशेषज्ञहरूले डेल्टा ‘प्लस’ कोरोनाभाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा भेरियन्टभन्दा झन् सहज रूपमा फैलिन सक्ने बताएका छन् । बेलायतका हेल्थ सिक्यूरिटी एजेन्सी (यूकेएचएसए)aले उक्त नयाँ प्रकारको कोरोनाभाइरसलाई अनुसन्धानको क्रममा रहेको भेरियन्टका रूपमा वर्गीकरण गरेको छ ।

यसले गम्भीर रूपमा बिरामी पार्न सक्ने विषयबारे प्रमाण भने फेला परेको छैन । अनि हाल उपलब्ध रहेका खोपहरूले मानिसहरूलाई जोगाउन सक्ने विषयमा वैज्ञानिकहरू विश्वस्त छन् । बेलायतमा देखिएका कोरोनाभाइरस सङ्क्रमणमा डेल्टा भेरियन्ट नै बढी पाइएको भएपनि डेल्टा प्लसबाट सङ्क्रमित भएका मानिसहरू फेला पर्ने क्रम बढिरहेको छ ।

पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार ६ प्रतिशत कोभिड डेल्टा प्लस कोरोनाभाइरसले गराएको छ । विज्ञहरूले यो व्यापक रूपमा फैलिन वा यसले अहिले उपलब्ध खोपहरूलाई छल्न सक्ने सम्भावना नरहेको जनाएका छन् ।

यद्यपि अधिकारीहरूले बेलायतमा डेल्टा भेरियन्टको तुलनामा सङ्क्रमणको यो नयाँ प्रकार बढ्ने दर बढी हुनसक्ने केही प्रारम्भिक प्रमाण रहेको जनाएका छन्। विश्वमा कोरोनाभाइरसका हजारौँ भेरियन्टहरू फैलिरहेका छन्। भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखापर्नु आश्चर्यजनक विषय होइन । अमेरिकामा पनि डेल्टा प्लस भेरियन्टका कारण भएका सङ्क्रमणहरूको पहिचान भएको छ।

डेन्मार्कमा पनि यो भेरियन्ट देखिएको छ तर त्यहाँ भने यो फेला पर्ने क्रम घट्दै गएको छ । बेलायतमा उच्च जोखिममा भएका मानिसहरूको रक्षा गर्नका लागि कोभिड–१९ विरुद्ध खोपको बूस्टर अर्थात् अतिरिक्त मात्रा जाडो याम सुरु हुनअगावै दिइँदैछ।

ताजा खबर