अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण

२०७८ कार्तिक ७ आइतबार ०८:०३:०० मा प्रकाशित

अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरेका छन् । त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने विश्वास गरिएको छ । उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति 'ब्रेन–डेड' अर्थात् 'मृतमस्तिष्क' भएको अवस्थामा पुगेका बिरामी थिए ।

चिकित्सकीय भाषामा त्यसको अर्थ उनी निको भएर जीवित हुने सम्भावना थिएन र उनलाई चिकित्सा उपकरणको सहायतामा मात्रै जीवित अवस्थामा राखिएको थियो । उनलाई दिइएको मिर्गौला आनुवंशिक परिवर्तन गरिएको एउटा सुँगुरबाट निकालिएको थियो ।

सुँगुरको वंशाणुमा गरिएको त्यस्तो परिवर्तन बिरामीको शरीरले प्रत्यारोपण गरिएको अङ्ग स्वीकार गरोस् र बाहिरी अङ्गको रूपमा त्यसलाई अस्वीकार नगरोस् भन्ने हेतुले गरिएको बताइएको छ । उक्त चिकित्सकीय परीक्षणका विवरणहरूबारे समकक्षी विज्ञहरूबाट समीक्षात्मक धारणाहरू प्रकाशित भइसकेका छैनन् ।

तर विज्ञहरूले भने यसलाई एक प्रकारको उन्नत प्रयोग भएको बताएका छन् । यसअघि पनि त्यस किसिमका परीक्षणहरू भएका मानवबाहेक अन्य प्रजातिका प्राइमेट अर्थात् नरवानरमा गरिएको थियो । अङ्ग प्रत्यारोपणमा सुँगुरको प्रयोग नौलो भने होइन। सुँगुरको मुटुको भल्भ मानिसको शरीरमा पहिले पनि व्यापक प्रयोग भएको छ। अनि आकारको हिसाबले पनि सुँगुरका भित्री अङ्ग मानिससँग मिल्दोजुल्दो हुन्छ ।

न्यूयोर्क विश्वविद्यालयको ल्याङ्गोन मेडिकल सेन्टरमा भएको दुई घण्टा लामो शल्यक्रियामा चिकित्सकले सुँगुरको मिर्गौलालाई मस्तिष्क मृत भएका बिरामीको रक्तनलीसँग जोडिदिएका थिए। उनीहरूले रक्तसञ्चार सञ्चालन भएपछि बिरामीको शरीरले मिर्गौलालाई स्वीकार गरी सहज ढङ्गमा काम गर्छ वा अस्वीकार गर्छ भन्ने हेर्नका लागि त्यसो गरेका हुन्।

शल्यचिकित्सकहरूको उक्त समूहले झन्डै साढे दुई दिन मिर्गौलाको निगरानी गरे, पटकपटक जाँच र परीक्षण गरे । अनुसन्धानको नेतृत्व गरिरहेका चिकित्सक रोबर्ट मोन्ट्गोमरीले भने, ‘हामीले मानवमिर्गौला प्रत्यारोपण गरे सरह काम गरिरहेको मिर्गौला देख्यौँ जुन एउटा सामान्य मानवमिर्गौलाले गर्ने सबै कुरासँग मिल्दोजुल्दो देखियो।’

ताजा खबर