‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

२०७८ कार्तिक ६ शनिबार २३:२६:०० मा प्रकाशित

गण्डकी । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन् ।

उनले उपाधिसँगै नगद ८० हजार र ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाइन् । नेहा ६० केजी तौल मूनीको समूहमासमेत प्रथम स्थान हासिल गर्न सफल भई २५ हजार पुरस्कार पाएकी छन् ।

यसैगरी प्रतियोगितामा ६० केजी मुनिको समूहमा पुनम तामाङ द्वितीय र ज्योति थापा तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगिताअन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम भइन् भने सीमा गुरूङ द्वितीय र कोमल थापाले तृतीय स्थान हासिल गरिन् ।

प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजयी खेलाडीलाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ, आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

ताजा खबर