फाइनल जितेर सारा नेपालीलाई दशैंको उपहार दिन चाहन्थ्यौंः किरण चेम्जोङ

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई २८ वर्ष लाग्यो । पहिलो फाइनलमानै उपाधि जित्ने नेपालको सपना भने पुरा भएन । उपाधिको एकदमै नजिक पुगेर पनि नेपाल फेरि टाढा भयो । भारतसँग तीन शून्य गोलले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भयो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेतृत्वको नेपाली टोलीले साफमा उत्कृष्ट सुरुवात गरेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ गोलले पराजित गरेको थियो । भारतको भने ठिक उल्टो सुरुवात थियो । दक्षिण एशियाको महारथी भारतले सुरुवाती दुई खेलमा बराबरीको नतिजा निकाल्यो । बंगलादेश र श्रीलङ्कासँग बराबरी खेलेपछि भारत दबाबमा आएको थियो । लिग चरणमा नेपालसँगको खेल उसका लागि गर या मरको स्थितिमा थियो ।
जिते फाइनल पुग्ने सम्भावना जिवितै रहने हारे पहिलो पटक साफको लिग चरणबाट बाहिरिने । नेपालका लागि भने बराबरीको नतिजा इतिहास रच्न काफी थियो । तर भारतले एक शून्यले नेपाललाइ पराजित गर्यो । बंगलादेशसँग १–१ गोलको बराबरीपछि नेपालले फाइनलमा स्थान बनाएको थियो । भारत माल्दिभसलाई हराएर उपाधि नजिक पुग्यो । फाइनलमा नेपाल माथि सहज जित निकालेर भारत आठौं पटक साफको च्याम्पियन बन्यो । पहिलो पटक फाइनल पुग्नु नेपाली टिमका लागि सकारात्मक रह्यो । आज हामीले राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङसँग साफ, नेपाली फुटबलको भविष्य लगायतका विषयमा कुराकानी गरेका छौं ।
किरण जी स्वागत छ ? झन्डै दुई महिना पछि घर फर्किनु भएको छ । कस्तो लागिरहेको छ ?
धन्यवाद । अँ लामै समय भयो । साफको तयारीका लागि हामी छिट्टै गएका थियौं । खुसी लागेको छ मामुसँग भेट्न पाउँदा । दशैंको बेला नि पर्यो । टिका लगाउनमा केही दिन ब्यस्त भएँ । तर मनमा साफ जित्न नसक्नुको पीडाले भने बेला बेला घोचिराख्छ । उपाधि सहित आएको भए यो पटकको दशैं ओ हो कस्तो विशेष हुन्थ्यो होला ।
यो भन्दा अघि यहाँले चार पटक साफ च्याम्पियनसिप खेलिसक्नु भएको थियो । सन् २०११, २०१३, २०१५ र २०१८ मा । फाइनल खेल्दाको अनुभव कस्तो हुने रहेछ ?
अमेजिङ । खुसी यस्तो थियो कि म भन्नै सक्दिन । मलाई फाइनल हार्छौं भन्ने एक मनमा पनि थिएन । जित्छौं नै भन्ने लागेको थियो । जे होस् एक सय प्रतिशत भन्दा बढी इफोर्ट दिएर उपाधि जित्ने लक्ष्य थियो । पहिलो हाफमा सबैले एक सय प्रतिशत दियौं पनि । दोस्रो हाफमा केही कमजोरी भयो । पहिलो हाफमा गोल नखाएपछि अतिरिक्त समय अनि पेनाल्टीमा जान्छ सोचेको थियौं । फाइनल यसरी हार्छौं भन्ने लागेको थिएन ।
पहिलो पटक साफको फाइनल खेल्न मैदान प्रवेश गर्दै गर्दा र खेल सकिए पछि मैदान बाहिरिदै गर्दाको फरक कस्तो भयो ?
टनेलबाट मैदान जाँदै गर्दा उपाधि जित्छौनै भन्ने थियो । इतिहास रच्ने सुनौलो मौका थियो हामी सामु । फाइनल जितेर सारा नेपालीलाई दशैंको उपहार दिन चाहन्थ्यौं । छुट्टै जोश थियो । तर रेफ्रीले खेल सकिएको सिठ्ठी फुकेपछि भने निराश, मनमा पीडा । ला हामीले फाइनल हार्यौं त्यो पनि चीर प्रतिद्वन्द्वी भारतसँग । इतिहास रच्ने मौका गुम्यो भन्ने लाग्यो । मन भारी भयो ।
ड्रेसिङ रुमको वातावरण कस्तो थियो ?
सबै दुखी थिए । तर मन बुझाउने एउटा कारण पनि थियो । हामी २८ वर्ष पछि फाइनल पुग्यौं । यो पनि त आफैंमा ठूलो उपलब्धि हो । फेरि खेल्दै गएपछि परिपक्व हुँदै गएपछि दुःख, पीडा र हारलाई स्वीकार गर्न सक्ने क्षमता पनि बढ्ने रहेछ । पीडा हुन्छ तर यसलाई सहज रुपमा लिएर अघि बढ्नु पर्छ भन्ने भावना आउने रहेछ । हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ ।
फाइनलमा भारतले कस्तो खेल्यो ?
धेरै राम्रो खेल्यो । सुरुवात देखिनै भारतले हामी माथि दवाव बनाएको थियो । वल पोसेसनमा अघि थिए । पहिलो हाफमा हामी दबाबमा थियौं तर बच्यौं । गोल रहित बराबरी भयो पहिलो हाफ । कुनै ठाउँमा सन्तुलन गुमिरहेको थियो कुनै ठाउमा राम्रो गरिरहेका थियौं । तर दोस्रो हाफमा हामीले लय गुमायौं । पाँच मिनेटमा उपाधि हातबाट फुस्कियो । त्यही पाँच मिनेटले गर्दा हामी खेलमा फर्कन सकेनौं । गोल खाएपछि अट्याक्टिङमा पनि जान सकैनौं डिफेन्सिभ पनि खेल्न सकैनौं । समग्रमा भारतले उत्कृष्ट खेल खेल्यौ ।
त्यो पाँच मिनेटलाई कसरी सम्झनु हुन्छ त ?
जीवनभर विर्सन्न म । त्यो पाँच मिनेटले सधैं नमेटिने पीडा दियो । मलाई सन् २०२१ को साफ च्याम्पियनसिपको फाइनल जित्न नसकेकोमा जीवनभर पश्चाताप भइरहनेछ ।
लिग चरणमा बंगलादेशसँग नेपाल एक समय हार नजिक पुगेको थियो । हारले प्रतियोगिताबाट बाहिरन्थ्यो । एक शून्यले पछि परेको बेला नेपाललो पेनाल्टी पायो । त्यो बेला मनमा के थियो ?
महत्वपूर्ण खेल थियो हाम्रा लागि । हारले फेरि फाइनल पुग्ने सपना अधुरै रहन्थ्यो । सारा नेपालीले प्रार्थना गरिरहेका थिए । अन्त्य तिर पेनाल्टी पायौं । अन्जन भाइ पेनाल्टी प्रहार गर्न गए । मैले हेर्न सकिन । अनन्त तामाङ र सुमन अर्याल भाइलाई अंगालो हालेर आँखा चिम्लिएँ । मैले पेनाल्टी हानेको हेरिन । जितिसकेपछि खुसी म शब्दमा बयान गर्न सक्दिन ।
वास्तविकता के हो त नेपाल र भारतको फुटबलमा ?
हामीले वास्तविकता स्वीकार गर्नुपर्छ, भारत हामी भन्दा धेरै माथि छ । उनीहरुको मार्केट भ्यालुनै दोब्बर छ । त्यहा खेलिने लिग स्तरीय र व्यावसायिक छन् । निजी क्षेत्रको ठूलो लगानी छ । सरकारको पनि दीर्घकालिन योजना छ । म आफैं भारतको लिग खेल्छु । कहाँ हो कहाँ छ हाम्रो र उनीहरुको लिग । हाम्रोमा केही पनि छैन भन्दा फरक पर्देन । । हामी अलि बढी भावनामा खेलिरहेका छौं । देशका लागि खेल्नु पर्छ भन्ने भावना । समर्थकको ठूलो अपेक्षा हुन्छ । फेरि समर्थकमा अपेक्षा बढाएको पनि हामीलेनै हो । यस्तो स्थितिमा पनि हामी राम्रो खेल्छौं । समर्थक सोच्छन् हामी साफ च्याम्पियन हुनैपर्छ । तर विपक्षी टिममा भएको लगानी कस्तो छ भन्ने हामी बुझ्दैनौ । त्यही पनि हामी झन्डै उस्तै स्तरको खेल खेलिरहेका छौं । जितेको बेला जति ताली पाउछौं हारेपछि त्यतिनै गाली पनि खान्छौं ।
अब त नेपाललाई भारत मात्र चुनौती रहेन । माल्दिभ्स, बंगलादेश पनि बलिया भएर आएका छन् । दक्षिण एशियाका अरु देश कसरी अघि बढिरहेका छन् ?
ग्रोथ भइरहेको छ । भारतमा धेरै व्यावसायिकता छ । बंगलादेश र माल्दिभ्समा पनि लगानी भइरहेको छ । त्यहाँका लिगहरु राम्रा भइरहेका छन् । विस्तारै माथि आइरेका छन् । अब पनि गम्भीर भएर नसोच्ने हो र हार्नुका कारण खोजेर योजना नबनाउने हो भने आउँदा दिन हाम्रा लागि अझ कठिन हुनेछन् । भारत टिममा त्यस्तो के छ जस्तो लाग्छ ? जसरी सुरुवात गर्यो त्यो हेर्दा उपाधि जित्ला र भन्ने थियो । अन्त्यमा च्याम्पियन नै बन्यो ।
आत्मविश्वास । दक्षिण एशियामा एकछत्र राज गरिरहेको छ । यो भन्दा अघि सात पटक उपाधि जितिसकेको टिम । सुरुवातमा राम्रो नगरेपनि हामी कम ब्याक गर्न सक्छौं भन्ने आत्मविश्वास नै भारतीय टिमको सबैभन्दा बलियो पक्ष हो जस्तो लाग्छ । अर्को कुरा चाहिँ हामीले लिग चरणमानै भारतलाई हराउनु पथ्र्यो । यदि हामी जितेको भए भारत प्रतियोगिताबाट बाहिरिन्थ्यो । लिग चरणमा हामीले लिएको रणनीति केही हदसम्म सफल पनि भए जस्तो लाग्छ । अन्त्य तिर केही गल्तीहरु भए । नेपालले गर्दा फाइनल पुग्यो र नेपाललाईनै हरायो । चित्त दुख्छ सम्झिदा ।
सुनिल क्षेत्रीको बारेमा के भन्नु हुन्छ ?
भारतीय फुटबल टिमको लागि हिरा हुन् सुनिल । ओ माइ गड कस्तो खेलेको । अप एन्ड डाउन जता पनि पुग्ने । उमेर ३७ वर्ष । कसले भन्छ सुनिल ३७ वर्षको भनेर । गेम चेन्जर हो सुनिल । हाम्रोमा सुनिल क्षेत्री जस्तो खेलाडीको कमी छ ।
नेपाली टिममा मुख्य स्ट्राइकरको कमी हो ?
हो हामीमा स्ट्राइकरको कमी छ । पोजीसनमा खेल्ने खेलाडीको सपना छैन जस्तो लाग्छ । अर्थात् म भोलि गएर ऊ जस्तो स्ट्राइकर जस्तो बन्छु अथवा यो डिफेन्डर यो गोलकिपर जस्तो बन्छु भन्ने सपना देख्ने खेलाडी छैन। म खेल्छु, नाम आइहाल्छु भन्ने मात्र सोच्छन् नयाँ पुस्ताले । प्यासन छैन । फेरि व्यावसायिकताको पनि कुरा आउँछ । कति चाहिँ आफूमा पनि भर पर्छ । पहिला भन्दा अहिले धेरै सकारात्मक परिवर्तन आएको छ । परिवारले पनि सहयोग गर्छ । आफूले पनि मेहनत गर्नुपर्छ । एकैदिनमा हिरो र एकछिनमा जिरो हुने समयबाट आफूलाई जोगाउनु पर्छ युवा खेलाडीले ।
दक्षिण एशिया भन्दा बाहिर कहिले जाने त ?
सरकारको लगानी, अखिल नेपाल फुटबल संघ एन्फाको योजना हुनुपर्यो । एशिया कपको फाइनल चरण खेल्ने सपना राख्नु पर्यो । विश्वकपनै खेल्न सक्छौं भन्ने अहिले हामी सोच्न सक्दैनौं । अहिलेलाई एशियन कप फाइनल राउन्ड, एशिया कपको प्रारम्भिक चरण पार गर्ने टार्गेट राख्नु पर्यो । एशियन कप हाम्रो टार्गेट हुनुपर्छ । एक वर्षको लगानीमा हामी साफको फाइनल पुग्यौं । अब च्याम्पियन बन्ने गरी तयारी गर्नुपर्यो ।
अब अर्को संस्करण फाइनल पुग्छ त नेपाल ?
अहिले नै म भन्न सक्दिन । अहिले फाइनल पुग्यौ अर्को पटक पनि पुगिहाल्छौं भन्ने हुदैन । हामीले कसरी तयारी गर्छौं भन्ने मुख्य कुरा हो । साफ जित्ने मेरो सपना सकिएको छैन । म सकारात्मक छु । मेरै कप्तानीमा अथवा खेलाडीको रुपमा नेपालले साफ जित्छ भन्ने विश्वास छ ।