फाइनल जितेर सारा नेपालीलाई दशैंको उपहार दिन चाहन्थ्यौंः किरण चेम्जोङ

२०७८ कार्तिक ५ शुक्रबार १९:३१:०० मा प्रकाशित

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई २८ वर्ष लाग्यो । पहिलो फाइनलमानै उपाधि जित्ने नेपालको सपना भने पुरा भएन । उपाधिको एकदमै नजिक पुगेर पनि नेपाल फेरि टाढा भयो । भारतसँग तीन शून्य गोलले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भयो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेतृत्वको नेपाली टोलीले साफमा उत्कृष्ट सुरुवात गरेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ गोलले पराजित गरेको थियो ।  भारतको भने ठिक उल्टो सुरुवात थियो । दक्षिण एशियाको महारथी भारतले सुरुवाती दुई खेलमा बराबरीको नतिजा निकाल्यो ।  बंगलादेश र श्रीलङ्कासँग बराबरी खेलेपछि भारत दबाबमा आएको थियो । लिग चरणमा नेपालसँगको खेल उसका लागि गर या मरको स्थितिमा थियो ।

जिते फाइनल पुग्ने सम्भावना जिवितै रहने हारे पहिलो पटक साफको लिग चरणबाट बाहिरिने ।  नेपालका लागि भने बराबरीको नतिजा इतिहास रच्न काफी थियो । तर भारतले एक शून्यले नेपाललाइ पराजित  गर्यो । बंगलादेशसँग १–१ गोलको बराबरीपछि नेपालले फाइनलमा स्थान बनाएको थियो । भारत माल्दिभसलाई हराएर उपाधि नजिक पुग्यो । फाइनलमा नेपाल माथि सहज जित निकालेर भारत आठौं पटक साफको च्याम्पियन बन्यो । पहिलो पटक फाइनल पुग्नु नेपाली टिमका लागि सकारात्मक रह्यो  । आज हामीले राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङसँग साफ, नेपाली फुटबलको भविष्य लगायतका विषयमा कुराकानी गरेका छौं । 

किरण जी स्वागत छ ? झन्डै दुई महिना पछि घर फर्किनु भएको छ । कस्तो लागिरहेको छ ? 
धन्यवाद । अँ लामै समय भयो । साफको तयारीका लागि हामी छिट्टै  गएका थियौं । खुसी लागेको छ मामुसँग भेट्न पाउँदा । दशैंको बेला नि पर्यो । टिका लगाउनमा केही दिन ब्यस्त भएँ । तर मनमा साफ जित्न नसक्नुको पीडाले भने बेला बेला घोचिराख्छ ।  उपाधि सहित आएको भए यो पटकको दशैं ओ हो कस्तो विशेष हुन्थ्यो होला । 

यो भन्दा अघि यहाँले चार पटक साफ च्याम्पियनसिप खेलिसक्नु भएको थियो । सन् २०११, २०१३, २०१५ र २०१८ मा । फाइनल खेल्दाको अनुभव कस्तो हुने रहेछ ? 

अमेजिङ । खुसी यस्तो थियो कि म भन्नै सक्दिन । मलाई फाइनल हार्छौं भन्ने एक मनमा पनि थिएन । जित्छौं नै भन्ने लागेको थियो । जे होस् एक सय प्रतिशत भन्दा बढी इफोर्ट  दिएर उपाधि जित्ने लक्ष्य थियो । पहिलो हाफमा सबैले एक सय प्रतिशत दियौं पनि । दोस्रो हाफमा केही कमजोरी भयो । पहिलो हाफमा गोल नखाएपछि  अतिरिक्त समय अनि पेनाल्टीमा जान्छ सोचेको थियौं ।  फाइनल यसरी हार्छौं भन्ने लागेको थिएन । 

पहिलो पटक साफको फाइनल खेल्न मैदान प्रवेश गर्दै गर्दा  र खेल सकिए पछि मैदान बाहिरिदै गर्दाको फरक कस्तो भयो ? 
टनेलबाट मैदान जाँदै गर्दा उपाधि जित्छौनै भन्ने थियो । इतिहास रच्ने सुनौलो मौका थियो हामी सामु । फाइनल जितेर सारा नेपालीलाई दशैंको उपहार दिन चाहन्थ्यौं । छुट्टै जोश थियो । तर रेफ्रीले खेल सकिएको सिठ्ठी फुकेपछि भने निराश, मनमा पीडा । ला हामीले फाइनल हार्यौं त्यो पनि चीर प्रतिद्वन्द्वी भारतसँग । इतिहास रच्ने मौका गुम्यो भन्ने लाग्यो । मन भारी भयो । 

ड्रेसिङ रुमको वातावरण कस्तो थियो ? 
सबै दुखी थिए । तर मन बुझाउने एउटा कारण पनि थियो । हामी २८ वर्ष पछि फाइनल पुग्यौं । यो पनि त आफैंमा ठूलो उपलब्धि हो । फेरि खेल्दै गएपछि परिपक्व हुँदै गएपछि दुःख, पीडा र हारलाई स्वीकार गर्न सक्ने क्षमता पनि बढ्ने रहेछ । पीडा हुन्छ तर यसलाई सहज रुपमा लिएर अघि बढ्नु पर्छ भन्ने भावना आउने रहेछ । हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ । 

फाइनलमा भारतले कस्तो खेल्यो ? 
धेरै राम्रो खेल्यो । सुरुवात देखिनै भारतले हामी माथि दवाव बनाएको थियो । वल पोसेसनमा अघि थिए । पहिलो हाफमा हामी दबाबमा थियौं तर बच्यौं । गोल रहित बराबरी भयो पहिलो हाफ । कुनै ठाउँमा सन्तुलन गुमिरहेको थियो कुनै ठाउमा राम्रो गरिरहेका थियौं । तर दोस्रो हाफमा हामीले लय गुमायौं । पाँच मिनेटमा उपाधि हातबाट फुस्कियो ।  त्यही पाँच मिनेटले गर्दा हामी खेलमा फर्कन सकेनौं । गोल खाएपछि अट्याक्टिङमा पनि जान सकैनौं डिफेन्सिभ पनि खेल्न सकैनौं । समग्रमा भारतले  उत्कृष्ट खेल खेल्यौ ।

त्यो पाँच मिनेटलाई कसरी सम्झनु हुन्छ त ? 
 जीवनभर विर्सन्न म  । त्यो पाँच मिनेटले सधैं नमेटिने पीडा दियो । मलाई सन् २०२१ को साफ च्याम्पियनसिपको फाइनल जित्न नसकेकोमा जीवनभर  पश्चाताप भइरहनेछ ।  

लिग चरणमा बंगलादेशसँग नेपाल एक समय हार नजिक पुगेको थियो । हारले प्रतियोगिताबाट बाहिरन्थ्यो । एक शून्यले पछि परेको बेला नेपाललो पेनाल्टी पायो । त्यो बेला मनमा के थियो ? 

 महत्वपूर्ण खेल थियो हाम्रा लागि  । हारले फेरि फाइनल पुग्ने सपना अधुरै रहन्थ्यो । सारा नेपालीले प्रार्थना गरिरहेका थिए । अन्त्य तिर पेनाल्टी पायौं । अन्जन भाइ पेनाल्टी प्रहार गर्न गए । मैले हेर्न सकिन । अनन्त तामाङ  र सुमन अर्याल भाइलाई अंगालो हालेर आँखा चिम्लिएँ । मैले पेनाल्टी हानेको हेरिन । जितिसकेपछि खुसी म शब्दमा बयान गर्न सक्दिन ।  

वास्तविकता के हो त  नेपाल र भारतको फुटबलमा ? 
हामीले वास्तविकता स्वीकार गर्नुपर्छ, भारत हामी भन्दा धेरै माथि छ ।  उनीहरुको मार्केट भ्यालुनै दोब्बर छ  । त्यहा खेलिने लिग स्तरीय र व्यावसायिक छन् । निजी क्षेत्रको ठूलो लगानी छ । सरकारको पनि दीर्घकालिन योजना छ । म आफैं भारतको लिग खेल्छु । कहाँ हो कहाँ छ हाम्रो र उनीहरुको लिग । हाम्रोमा केही पनि छैन भन्दा फरक पर्देन । । हामी अलि बढी भावनामा खेलिरहेका छौं । देशका लागि खेल्नु पर्छ भन्ने भावना   । समर्थकको ठूलो अपेक्षा हुन्छ । फेरि समर्थकमा अपेक्षा बढाएको पनि हामीलेनै हो । यस्तो स्थितिमा पनि हामी राम्रो खेल्छौं  । समर्थक सोच्छन् हामी साफ च्याम्पियन हुनैपर्छ । तर विपक्षी टिममा भएको लगानी कस्तो छ भन्ने हामी बुझ्दैनौ । त्यही पनि हामी झन्डै उस्तै स्तरको खेल खेलिरहेका छौं  । जितेको बेला  जति ताली पाउछौं हारेपछि त्यतिनै  गाली पनि खान्छौं । 

अब त नेपाललाई भारत मात्र चुनौती रहेन । माल्दिभ्स, बंगलादेश पनि बलिया भएर आएका छन् । दक्षिण एशियाका अरु देश कसरी अघि बढिरहेका छन्  ? 
ग्रोथ भइरहेको छ । भारतमा धेरै व्यावसायिकता छ । बंगलादेश र माल्दिभ्समा पनि लगानी भइरहेको छ । त्यहाँका लिगहरु राम्रा भइरहेका छन् । विस्तारै माथि आइरेका छन् ।  अब पनि गम्भीर भएर नसोच्ने हो र हार्नुका कारण खोजेर योजना नबनाउने हो भने आउँदा दिन हाम्रा लागि अझ कठिन हुनेछन् ।  भारत टिममा त्यस्तो के छ जस्तो लाग्छ ?  जसरी सुरुवात गर्यो त्यो हेर्दा उपाधि जित्ला र भन्ने थियो । अन्त्यमा च्याम्पियन नै बन्यो । 

 आत्मविश्वास । दक्षिण एशियामा एकछत्र राज गरिरहेको छ ।  यो भन्दा अघि सात पटक उपाधि जितिसकेको टिम । सुरुवातमा राम्रो नगरेपनि हामी कम ब्याक गर्न सक्छौं भन्ने आत्मविश्वास नै भारतीय टिमको सबैभन्दा बलियो पक्ष हो जस्तो लाग्छ । अर्को कुरा चाहिँ हामीले  लिग चरणमानै भारतलाई हराउनु पथ्र्यो । यदि हामी जितेको भए भारत प्रतियोगिताबाट बाहिरिन्थ्यो  । लिग चरणमा हामीले लिएको रणनीति केही हदसम्म सफल पनि भए जस्तो लाग्छ । अन्त्य तिर केही गल्तीहरु भए । नेपालले गर्दा फाइनल पुग्यो र नेपाललाईनै हरायो । चित्त दुख्छ सम्झिदा ।  
सुनिल क्षेत्रीको बारेमा के भन्नु हुन्छ ? 
 भारतीय फुटबल टिमको लागि हिरा हुन् सुनिल । ओ माइ गड कस्तो खेलेको । अप एन्ड डाउन जता पनि पुग्ने  । उमेर ३७ वर्ष । कसले भन्छ सुनिल ३७ वर्षको भनेर । गेम चेन्जर हो सुनिल ।  हाम्रोमा सुनिल क्षेत्री जस्तो खेलाडीको कमी छ । 

नेपाली टिममा मुख्य स्ट्राइकरको कमी हो ? 
 हो हामीमा स्ट्राइकरको कमी छ । पोजीसनमा खेल्ने खेलाडीको सपना छैन जस्तो लाग्छ । अर्थात् म भोलि गएर ऊ जस्तो  स्ट्राइकर जस्तो बन्छु  अथवा यो डिफेन्डर यो गोलकिपर जस्तो बन्छु भन्ने सपना देख्ने खेलाडी छैन। म खेल्छु, नाम आइहाल्छु भन्ने मात्र सोच्छन्  नयाँ पुस्ताले ।  प्यासन छैन । फेरि व्यावसायिकताको पनि कुरा आउँछ । कति चाहिँ आफूमा पनि भर पर्छ । पहिला भन्दा अहिले धेरै सकारात्मक परिवर्तन आएको छ । परिवारले पनि सहयोग गर्छ । आफूले पनि मेहनत गर्नुपर्छ । एकैदिनमा हिरो र एकछिनमा जिरो हुने समयबाट आफूलाई जोगाउनु पर्छ युवा खेलाडीले । 
दक्षिण एशिया भन्दा बाहिर कहिले जाने त ? 
सरकारको लगानी, अखिल  नेपाल फुटबल संघ एन्फाको योजना हुनुपर्यो । एशिया कपको फाइनल चरण खेल्ने सपना राख्नु पर्यो । विश्वकपनै खेल्न  सक्छौं भन्ने अहिले हामी सोच्न सक्दैनौं । अहिलेलाई एशियन कप फाइनल राउन्ड, एशिया कपको प्रारम्भिक  चरण पार गर्ने टार्गेट राख्नु पर्यो । एशियन कप हाम्रो टार्गेट हुनुपर्छ । एक वर्षको लगानीमा हामी साफको फाइनल पुग्यौं । अब च्याम्पियन बन्ने गरी तयारी गर्नुपर्यो ।  

 अब अर्को संस्करण फाइनल पुग्छ त नेपाल ? 
अहिले नै म भन्न सक्दिन । अहिले फाइनल पुग्यौ अर्को पटक पनि पुगिहाल्छौं भन्ने हुदैन । हामीले कसरी तयारी गर्छौं भन्ने मुख्य कुरा हो । साफ जित्ने मेरो सपना सकिएको छैन । म सकारात्मक छु  । मेरै कप्तानीमा अथवा खेलाडीको रुपमा नेपालले साफ जित्छ भन्ने विश्वास छ । 
 

ताजा खबर