स्कटल्यान्डद्वारा ओमानमाथि ८ विकेटको जित

२०७८ कार्तिक ५ शुक्रबार १२:१७:०० मा प्रकाशित

स्कटल्यान्डले समूह बी को विजेता बन्दै आइसीसी टि ट्वान्टी विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेको छ । पहिलो चरणको आफ्नो  अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमान माथि ८ विकेटको सहज जित हात पार्यो । बंगलादेश समूह उपविजेताका रुपमा सुपर १२ प्रवेश गर्यो । जारी विश्वकपको सह आयोजक ओमानको यात्रा भने समाप्त भयो ।

ओमानले दिएको १ सय २३ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १७ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पुरा गर्यो ।  जर्ज मुन्सी २० रनमा मैदान बाहिरिए । कप्तान काइल कोट्जरले २८ वलमा ४१ रन जोडे । म्याथ्यु क्रस २६ र रिच्ची बेरिङटन ३१ रनमा अविजीत रहे । बेरिङटनले मोहम्मद नदिमलाई छक्का प्रहार गर्दै स्कटल्यान्डलाई जित दिलाएका थिए ।

फायाज बट र  खावर अलीले एक एक विकेट लिए । यसअघि अल अमारत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको ओमान २० ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो । उसका तीन खेलाडीले बाहेक अन्य दोहोरो रन बनाउन सकेनन् । अकिब आइयासले ३७, कप्तान जिसन मक्सुदले ३४ र नदिमले २५ रन बनाए । पहिलो ओभरको दोस्रो वलमा जतिन्दर सिहंलाई शून्यमा रन आउट गर्दै स्कटल्यान्डले ओमानलाई दवावमा राखेको थियो ।

कस्यप प्रजापति ३ , सन्दीप गोड ५ र नसिम खुशी २ रनमा पवेलियन फर्किएका थिए । जोश डेभीले ३, साफयान सरिफले २ र मिचेल लिस्कले पनि २ विकेट लिए । स्कटल्यान्ड पहिलो पटक विश्वकपको मुख्य ड्रमा सामेल भएको हो । वरियताको १४ औं स्थानमा रहेको  स्कटल्यान्ड विश्वकपमा सहभागी हुन आउँदा पछिल्ला ६ ग्लोबल  प्रतियोगिताका खेलमा मात्र एकमा विजयी थियो  । सन २०१६ को टि ट्वान्टी विश्वकपमा उसले हङकङलाई हराएको थियो ।  

यो विश्वकपमा पनि स्कटल्यान्ड लगभग छनोट हुन असफल भएको थियो । तर उसले प्ले अफ मार्फत फाइनल चरणमा स्थान बनाएको हो ।  सुपर १२ मा स्कटल्यान्डले भारत, न्युजील्यान्ड, पाकिस्तान र अफगानिस्तासँग खेल्नेछ ।
बंगलादेशको पुनरागमन
पहिलो खेलमा बंगलादेश स्कटल्यान्डसँग पराजित भएको थियो  । तर बाँकी दुई खेलमा बंगलादेशले लगातार जित हात पार्दै उत्कृष्ट पुनरागमन गर्यो । दुईमा जित हात पारेपछि बंगलादेश उपविजेताका रुपमा सुपर १२ मा प्रवेश गरेको हो । दोस्रो  खेलमा पपुवा न्युगिनी र तेस्रो खेलमा ओमान माथि जित हात पार्दै बंगलादेश पहिलो चरणबाटै  बाहिरिने खतराबाट जोगियो । बंगलादेशका लागि सकिव अल हसनले अर राउन्ड प्रदर्शन गरिरहेका छन् । उनी वलिङ र ब्याटिङ दुवैमा सफल हुँदा बंगलादेश सुपर १२ मा पुग्न सफल भयो । 
 

ताजा खबर