च्याम्पियन्स लिगमा बर्सीलोनाको पहिलो जित

२०७८ कार्तिक ४ बिहीबार १२:५९:०० मा प्रकाशित

अन्ततः बर्सीलोनाले जारी च्याम्पियन्स लिगमा पहिलो जित हात पारेको छ । समूह इ मा रहेको बार्साले डाइनामो किभ माथि एक शून्य गोलको साँघुरो जित निकालेको हो । नोउ क्याम्पमा बार्साको जितमा जेरार्ड पिकेले गोल गरे । उनले ३६ औं मिनेटमा जोर्डी अल्बाको पासमा गरेको गोलनै बार्सालाई समूह चरणको खेलमा पहिलो जित निकाल्न निर्णायक बन्यो ।

पिकेको सिजनको यो पहिलो गोल हो । अंशु फातीले टिमका लागि दोस्रो गोल थप्ने सुनौलो मौका गुमाएका थिए । सर्जियो अग्वेरोले बार्साबाट पहिलो च्याम्पियन्स लिगको खेल  खेलेका छन् । उनी ७५ औं मिनेटमा माम्फिस डिपायेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । बार्सालाई यो जितले ठूलो राहत मिलेको छ ।

यसअघि उसले बायर्न म्युनिख र बेन्फिकासँग पराजय बेहोरेको थियो । यसै  समूहको बायर्न म्युनिखले बेन्फिाकालाई ४–० गोलले पराजित गर्यो । चारै गोल  खेलको अन्तिम २० मिनेटमा भएको हो । ७० औं मिनेटमा लियोरी सानेले पहिलो गोल गरेका थिए ।

८० औं मिनेटमा बेन्फिकाले आत्मघाती गोल गर्यो  । ८२ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले टिमका लागि तेस्रो गोल गरे । सानेले ८४ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले फराकिलो जित निकाल्यो । बायर्नको यो लगातार तेस्रो जित हो । समूह जी को खेलमा सेभिया र लिलले गोलरहित बराबरी खेले । साल्जबर्गले उल्भ्सबर्गलाई ३–१ ले हरायो । 
 

ताजा खबर