च्याम्पियन्स लिगमा म्यानेचस्टर युनाइटेडको जित

२०७८ कार्तिक ४ बिहीबार १२:५५:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डो नायक सावित भएपछि म्यानेचस्टर युनाइटेडले च्याम्पियन्स लिगमा एटालान्टाविरुद्ध पुनरागमन जित हात पारेको छ । समुह एफमा रहेको युनाइटेडले एटालान्टालाइ ३–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड २–० गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । १५ औं मिनेटमा मारियो पासालिच र २८ औं मिनेटमा मिरिख दिमिरलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले पछि पर्यो ।

तर दोस्रो हाफमा पाहुना टोलीविरुद्ध युनाइटेडले शानदार प्रदर्शन गर्दै ३ गोल फर्कायो । ५३ औं मिनेटमा मार्कस र्यासफर्डले एटालान्टासँगको दुरी दुई एकमा झारे । ब्रुनो फर्नान्डेजले पास उपलब्ध गराएका थिए । ७५ औं मिनेटमा इडिसन कभानीको सहयोगमा हेरी मग्वावेरले गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुगेको थियो । खेल सकिन ९ मिनेट बाँकी हुँदा रोनाल्डोले हेडर गोल गरेपछि युनाइटेडले  तीन अंक बटुल्यो ।

च्याम्पियन्स लिगमा रोनाल्डोको यो १ सय ३७ औं गोल हो । ३ खेलबाट ६ अंक जोड्दै युनाइटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एटालान्टा दोस्रो स्थानमा छ । यसै समूहमा रहेको भिल्लारियालले योङ ब्वाइजलाई ४–१ ले पराजित गर्यो । 
 

ताजा खबर